नानो कारको भविष्य सकिएकै हो त ?



मोटरसाइकलमा बालबच्चासहित चार/ पाँच जनाको परिवार सवार देखेपछि भारतमा टाटा समुहका तत्कालिन अध्यक्ष रतन टाटाले सस्तोमा कार उत्पादन गर्न किन सकिँदैन भनेर अध्ययन गरेका थिए ।

लामो अध्ययनपछि टाटाले सस्तो मुल्यमा कार उत्पादन गर्यो । हरेक व्यक्तिको आफ्नै कारको रुपमा नानो आउने अनुमान गरिएको थियो ।

२००८ को दिल्ली अटो शोमा टाटाले हालसम्मकै सर्वाधिक सस्तो मुल्यमा कार ल्याउने घोषणा गर्यो, त्यो पनि मोडल सहित । नानो नाम दिइएको उक्त कारको मुल्य १ लाख भारतीय रुपैयाँ तोकियो । २००८ को अटो शो संस्करणमा टाटा नानोले सबैको आँखा तान्न सफल भएको थियो ।

नानो कार मध्यमवर्गीय उपभोक्तामाझ लोकप्रिय हुने अनुमान कम्पनीले गरेको थियो । तर, नानोले जुन रुपमा आक्रामक बजार विस्तार गर्ने अनुमान गरिएको थियो, त्यसो हुन भने सकेन । २००९ देखि पूर्ण रुपमा बजारमा आएको नानो कारले केही वर्ष अपेक्षित हुन नसके पनि उत्साह भने ल्याएको थियो ।

सन् २०११ देखि २०१३ को अवधिमा टाटाको समग्र प्यासेन्जर कार बिक्रीमा नानोले पाँचौं स्थान ओगट्न सफल भएको थियो । त्यसयताका वर्षहरुमा भने नानोको बिक्री क्रमिक रुपमा ओरालो लागेको तथ्यांकले देखाउँछ । सस्तोमा कार चढ्न पाइएको भए पनि उपभोक्तामा नानो कारले किन विश्वास जमाउन सकेन भन्ने प्रश्न उब्जिएको छ ।

त्यसैको परिणाम हुन सक्छ नानोको बिक्रीमा उल्लेख्य कमी आउनु । २०१७ को मार्चमा टाटा नानो हालसम्मकै न्यून १ सय ७४ वटा मात्र बिक्री भएको छ । यो तथ्यांकले भविष्यमा नानोको बिक्री बढ्नेमा शंका व्यक्त गर्न थालिएको छ ।

 


क्लिकमान्डु