राजधानीमा ७ करोडको लगानीमा मर्निङवाक गर्न यस्तो बन्दैछ सम्पदा मार्ग



काठमाडौं । काठमाडौंबासी र विदेशी पर्यटकले अव धुवाँ धुलो मुक्त क्षेत्रमा मर्निङवाक गर्न पाउने भएका छन् ।

काठमाडौं महानगरपालिकाले पर्यटक र स्थानीयलाई ध्यान दिएर सम्पदा मार्ग निर्माण कार्यसुरु गरेसँगै अब सम्पदा मार्गमा मर्निङवाकको अवसर पाउने भएका हुन् ।

महानगरपालिकाले आगामी वर्ष नै सम्पन्न गर्ने लक्ष्य लिएर कामसुरु गरेको उक्त मार्गमा विदेशी तथा स्वदेशी पर्यटकको लागि मार्निङवाक, इभिनिङवाक गर्नको साथै ध्यान एकत्रित गर्न सम्पदा मार्ग उपयोगी हुने भएकोले पर्यटन व्यवसायी पनि उत्साहि भएका छन् ।

ढुंगा छाप्ने कामको लागि २ करोड ७५ लाख, सबग्रेड र पिसीसीको लागि १ करोड १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

महानगरपालिकाले हालै कालमोचनदेखि टेकुको करिब २.५ किलोमिटर क्षेत्रमा सम्पदा मार्ग निर्माण शुरु गरेको हो । ऐतिहासिक, पुराना र धार्मिक महत्वको कालमोचन–टेकु क्षेत्रमा सम्पदा मार्ग बनाउन शुरु भएको छ ।

पैदल बाटो बिग्रएर मानिस आवतजावत गर्न समस्या हुन थालेपछि महानगर सम्पदा मार्ग बनाउनै कम्मर कसेको हो । सम्पदा मार्ग बनेपछि मानिसको चहलपहल बढ्न जाने महानगरको अपेक्षा छ ।

महानगरले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन सम्पदा मार्ग सफल हुने समेत अपेक्षा राखेको छ । यस वरपर कतिपय दृश्य(मूर्त) र अमूर्त(अभौतिक) संस्कृतिको जगेर्ना गर्न सम्पदा मार्गले सहयोग गर्नेछ । उक्त क्षेत्रका लक्ष्मेश्वर पाटी, कृष्ण मन्दिर, नारायण मन्दिरलगायतका दृश्य (टान्जिबल) सम्पदाको दृश्यावलोकन गर्न सम्पदा मार्ग उपयोगी हुनेछ । तर, ती कतिपय मन्दिर भत्किएकोले तिनको समेत पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको छ । यस्तै, जात जातिगत साँस्कृतिक पक्षहरु(इनटान्जिवल कल्चर)को जगेर्ना गर्न समेत मार्गले मद्दत गर्नेछ ।

ऐतिहासिक तथा पुराना मठ, मन्दिर, पाटी र घाटमा जाउआउ गर्ने बाटो कतैबाट मर्मतसंभार हुन नसकेको परिस्थितिमा महानगरले सम्पदा मार्ग बनाउन पहल शुरु गरेको हो ।

बागमती नदीको किनारामा रहेको पैदल मार्गलाई व्यवस्थित बनाउन सम्पदा मार्ग बनाउन लागिएको काठमाडौ महानगरपालिकाले जनाएको छ । सम्पदा मार्गलाई ‘फ्रि भेइकिल जोन’ बनाइने छ ।

ऐतिहासिक तथा पुराना मठ, मन्दिर, पाटी र घाटमा जाउआउ गर्ने बाटो कतैबाट मर्मतसंभार हुन नसकेको परिस्थितिमा महानगरले सम्पदा मार्ग बनाउन पहल शुरु गरेको हो । यसअघि पनि महानगरले शहरको भित्री क्षेत्रका पुराना भागमा सम्पदा मार्ग बनाएको थियो ।

कमलाक्षीदेखि असन, ईन्द्रचोक क्षेत्रमा लगभग १ किलोमिटर दुरीमा ढुंगा बिछ्याएर सम्पदा मार्ग बनाइएको थियो । सन् २०१७ भित्रै काम सम्पन्न गरिसक्नुपर्ने कालमोचन–टेकु सम्पदा मार्ग निर्माणको जिम्मेवारी एसियाली विकास बैंक (एडिबी) ले लुम्बिनी-रमण जेभीलाई दिएको छ ।

कस्तो बन्दै छ ?
सम्पदा मार्गको प्राविधिक तथा आर्थिक प्रस्ताव तयार पारेको एसआइडिइएफका वरिष्ठ इन्जिनियर उनम प्रधानका अनुसार सम्पदा मार्गमा ‘ढुंगा छाप्नेदेखि ग्रिनरी’ बनाउनेसम्मको योजना छ ।

बिग्रिएको बाटोमा ढुंगा छाप्नु भन्दा अघि सबग्रेड गरिन्छ । सबग्रेड गरेपछि सिमेन्ट र कंक्रिट मिसिएर पिसीसी गरिन्छ । यो नै सबैभन्दा प्रारम्भिक काम भएको प्रधानले बताए । यसपछि ढुंगा छापिन्छ र ढुंगा छाप्दा वातावरणीय प्रभावलाई समेत ख्याल गरिने उनले बताए । यस्तै सम्पदा मार्ग घोषित गरिएका वरपर रहेका केही घरबाट निस्केको अवस्थित ढललाई समेत निकास दिइनेछ ।

परम्परागत घाटलाई संरक्षण गर्न केहीकेही स्थानमा पर्खाल(रिटेनिङ वाल) समेत लगाइने प्रधान बताउँछन् । उता पैदल यात्रीलाई आराम गर्न ठाउँठाउँमा फल्चा(बेन्च) पनि बनाइने भएको छ ।

सो क्षेत्रमा रहेका पुराना ढुंगालाई पनि सकेसम्म प्रयोगमा ल्याइने प्रधानले जानकारी दिए ।

‘ती ढुंगा पनि आफैमा ऐतिहासिक रहेकोले प्रयोग गर्न हुनेलाई पुनप्रयोगमा ल्याइनेछ,’ उनले भने ।

घाटभन्दा माथिको भागमा हरियाली वातावरणको लागि बिरुवारोपणसमेत गरिनेछ । महानगरले सम्पदा मार्गको सुरक्षा र आवतजावतको सहजताको लागि फरक कोषबाट सौर्य उर्जा जडित बत्ती राख्ने पनि भएको छ ।

कति छ खर्च ?
कुल ७ करोड १४ लाख रुपैयाँ अनुमानित लगानी लाग्ने मार्गमा एसियाली विकास बैंकको ६८ प्रतिशत ऋण सहयोग र बाँकी ३२ प्रतिशत रकम महानगरपालिकाको आन्तरिक कोषबाट खर्च हुने गरी योजना कार्यन्वयन भएको छ ।

महानगर अन्तर्गतको काठमाडौ दीगो शहरी विकास परियोजना(केएचयूटिपी) अन्तर्गत सम्पदा मार्ग निर्माण थालिएको हो ।

ढुंगा छाप्ने कामको लागि २ करोड ७५ लाख, सबग्रेड र पिसीसीको लागि १ करोड १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसैगरी ढलको लागि करिब २०, रिटेनिङवालको लागि ९१ लाख र फल्चा बनाउनको लागि ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु