३६ सय ६१ मोवाइलले लिए टाइप अप्रुभल, तपाईंले लिनुभयो ?



 

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ४ हजार भन्दा बढि उपकरणहरुको मोडललाई टाइप अप्रुभल प्रदान गरेको छ ।

प्राधिकरणले नेपालमा उपयोग हुने र आयात हुने दूरसंचार उपकरणहरुको अनिवार्य टाइप अप्रुभल लिनुपर्ने व्यवस्था गरेदेखि हालसम्म ४ हजार ७ सय २८ किसिमका उपकरणहरुको टाइप अप्रुभल प्रदान गरेको हो । जसमध्ये १ हजार ४ सय ९९ वटा मोडलका उपकरणहरुलाई ५ वर्षे पिरियोडिक पर्मानेन्ट टाइप अप्रुभल दिईएको छ ।

प्राधिकरणले दिएको जानकारी अनुसार यहि जेठ २४ गतेसम्म १० प्रकारका उपकरणहरुको टाइप अप्रुभल गरेको हो । टाइप अप्रुभल भएका उपकरणहरुमा जीएसएम मोबाइल ह्याडसेट, सर्ट रेन्ज डिभाइस, सिडिएमए डिभाइस, जीएसएम डिभाइस, सिडिएमए मोबाइल ह्याण्डसेट, सिडिएमए फिक्स्ड सेट, ट्याबलेट, स्याटेलाइट मोबाइल ह्याडसेट, स्याटेलाइट टर्मिनल, वाइम्याक्स रहेका छन् ।

टाइप अप्रुभल लिँदा आयातकर्ताले कुनैपनि मोडलका उपकरणहरुको उत्पादकको प्रमाणपत्र, वारेन्टी, ग्यारेन्टीको पत्र, कस्टमर केयर सेन्टरको रिपोर्ट, उपकरण परिक्षण प्रतिवेदनलगायतका विवरणहरु प्राधिकरणमा पेश गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सन् २००८ जून महिनादेखि प्राधिकरणले टाइप अप्रुभल प्रदान गर्ने गरेको जानकारी दिए । उनले विभिन्न १० प्रकारका उपकरणहरुको मोडललाई मात्र अप्रुभल गर्ने गरेको बताए । ‘टाइप अप्रुभलमा हामीले ६ महिनाको प्रोभिजनल र ५ वर्षको लागि पिरियोडिक परमानेन्ट दिने गरेका छौं,’ उनले भने ।

प्राधिकरणकाअनुसार सबैभन्दा बढि टाइप अप्रुभल जीएसएम मोबाइल ह्यान्डसेटमा प्रदान गरिएको छ । जसअन्तर्गत ३ हजार ६ सय ६१ वटा मोडललाई ६ महिनाको प्रोभिजनल र ८८८ वटा मोडललाई ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल दिईएको छ ।

सर्ट रेन्ज डिभाइसमध्ये ७९१ लाई प्रोभिजनल र ५३० लाई ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल दिईएको छ ।

सिडिएमए डिभाइस अन्तर्गत ४ वटाले प्रोभिजन टाइप अप्रुभल पाएका छन भने ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल पाउनेको संख्या शुन्य रहेको छ ।

जीएसएम डिभाइसमा ६७ वटाले प्रोभिजनल तथा २५ वटालाई ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल दिईएको छ ।

सिडिएमए मोबाइल ह्याडसेट प्रकारमा ५४ वटालाई प्रोभिजनल तथा ६ वटालाई ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल दिईएको छ ।

सिडिएमए फिक्सड सेटमध्ये ३ वटाले प्रोभिजनल तथा एउटाले मात्रै ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल पाएको छ ।

ट्याबलेटमध्ये १२८ वटा मोडललाई प्रोभिजनल टाइप अप्रुभल प्रदान गरिएको छ भने केबल ३९ वटालाई ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल प्रदान गरिएको छ ।

सेटेलाइट मोबाइल ह्याण्डसेटमध्ये १२ वटाले प्रोभिजनल तथा ७ वटाले ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल पाएका छन् ।

सेटेलाइट टर्मिनल उपकरण २ वटाले प्रोभिजनल टाइप अप्रुभल पाएका छन भने ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल पाउनेको संख्या शुन्य रहेको छ ।

त्यस्तै वाइम्याक्स उपकरणमा ६ वटा मोडललाई प्रोभिजनल टाइप अप्रुभल प्रदान गरिएको छ भने ३ वटा मोडललाई ५ वर्षे पिरियोडिक परमानेन्ट टाइप अप्रुभल प्रदान गरिएको छ ।

प्राधिकरणकाअनुसार टाइप अप्रुभल प्रदान गरिएका मोडलअन्तर्गत आयातकर्ताले आफ्नो आवश्यकताअनुसारको संख्यामा उपकरणहरु आयात गर्न सक्दछ ।

के हो टाइप अप्रुभल ?

हाल नेपालमा सबै प्रकारका मोबाइल सेट, फोन सेट, ट्याबलेटलगायत उपकरणहरुको टाइप अप्रुभल अनिवार्य गरिएको छ । प्राधिकरणले तोकेको मापदण्ड पूरा भएको उपकरणलाई मात्रै टाइप अप्रुभल प्रदान गरिन्छ । दूरसंचार ऐनअनुसार मोबाइल सेट, ट्याबलेट, रेडियो उपकरण, वाईफाई, ब्लूटूथलगायतका उपकरण तथा नेटवर्कले स्तरको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

ऐनअनुसार टाइप अप्रुभल लिँदा आयातकर्ताले कुनैपनि मोडलका उपकरणहरुको उत्पादकको प्रमाणपत्र, वारेन्टी, ग्यारेन्टीको पत्र, कस्टमर केयर सेन्टरको रिपोर्ट, उपकरण परिक्षण प्रतिवेदनलगायतका विवरणहरु प्राधिकरणमा पेश गर्नुपर्ने हुन्छ ।


पुष्प दुलाल