जहाज खरिद गर्न संचय कोषले निगमलाई दियो १२ अर्ब ऋण



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज खरिदको लागि कर्मचारी संचय कोषसँग ऋण सम्झौता भएको छ ।

कर्मचारी संचय कोषले वायुसेवा निगमलाई जहाज खरिद गर्न १२ अर्ब रुपैयाँ ऋण दिने भएको हो ।

यसको ब्याजदर ९ प्रतिशत छ ।

निगमलाई नागरिक लगानी कोषले पनि जहाज खरिदको लागि ऋण दिने छ । १२ अर्ब रुपैयाँ ऋण नागरिक लगानी कोष दिने सहमति भएको छ । यसको सम्झौता भने भएको छैन । नागरिक लगानी कोषसँग भोलि सम्झौता हुने छ ।

निगमले खरिद गर्न लागेको एयबस ३३०-२०० सिरिजको दुई थान वाईडबडी जहाज खरिद गर्न लागेको हो ।

निगम र अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनबीच खरिद सम्झौता गरेको थियो ।

दुई ठुला वाईडबडी जहाज एयरबस ३३०-२०० सिरिजको जहाज खरिदको लागि निगमलाई स्रोतको व्यवस्थापन भएको छ ।

संचय कोष र नागरिक लगानी कोषले सरकारको जमानीमा निगमलाई ऋण दिएका हुन् । निगमले दुई जहाज थपेपछि युरोपमा उडान गर्ने जनाएको छ ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार आज संचयकोष संग सम्झौता भएको र भोली नागरिक लगानीकोष संग पनि सम्झौता गर्ने कार्यक्रम रहेको बताए । केही दिनमै निगमले डलर सटहीको सुविधा लिएर पहिलो किस्ता वापत ८ अर्व रुपैयाँ निगमले पठाउने छ ।

पहिलो पटक खरिद गर्न लागिएको वाईबडी जहाज निगमले २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गर्न लागेको हो ।

 खरिद सम्झौता अनुसार निगमले अमेरिकन कम्पनीलाई पहिलो किस्ता ८ अर्व रुपैयाँ पठाउने छ भने बाँकी १४ अर्व ६३ करोड रुपैयाँ दोस्रो किस्ता बापत निगमले कम्पनीलाई पठाउने छ । कर्पोरेशनले १० कम्पनीलाई पछिपार्दै निगमले गरेको ग्लोवल टेन्डर जितेको थियो ।


क्लिकमान्डु