काठमाडौंका यी ठाउँमा अब तपाईले बिजुलीका तार देख्न पाउनुहुन्न



काठमाडौं । अव्यवस्थित बिजुलीका तारहरुले काठमाडौं शहरलाई कुरुप बनाएको छ । गुजुल्टिएका बिजुलीका तारहरुले शहरको सुन्दरता मात्रै बिगारेको छैन, सर्वसाधारणको सुरक्षालाई पनि जोखिममा पारेको छ ।

काठमाडौंको सुन्दरता बचाउन र विद्युत वितरणलाई व्यवस्थित गर्दै जोखिम हटाउन सरकारले काठमाडौंका केही स्थानमा अन्डर ग्राउण्ड अर्थात् जमिनमूनिबाट विद्युतको वितरण गर्ने भएको छ ।

एसियाली विकास बैंकले उपत्यकाको वितरण प्रणाली व्यवस्थित गर्न २०० मिलियन डलर अर्थात २० अर्ब रुपैयाँ खर्च गर्ने प्रतिवद्धता गरिसकेको छ ।

नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण प्रणालीले ओगट्ने क्षेत्रमा अन्डरग्राउण्ड वितरण प्रणाली सुरु गर्न लागेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘एसियाली विकास बैंकको आर्थिक सहयोगमा प्राधिकरणले काठमाडौं उपत्याकाको प्रसारणलाइनलाई व्यवस्थित गर्ने आयोजना सञ्चालन गर्दैछ,’ घिसिङले क्लिकमाण्डूसँग भने,- ‘पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण प्रणालीले ओगट्ने क्षेत्रमा अन्डरग्राउण्ड वितरण प्रणाली निर्माण गरिनेछ ।’

एक वर्ष नै एसियाली विकास बैंकसँग आर्थिक सहयोग लिएर काठमाडौंको विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने सैद्दान्तिक सहमति भएको थियो । सैद्दान्तिक सहमतिमा एडीबीले उपत्यकाको वितरण प्रणाली व्यवस्थित गर्न २०० मिलियन डलर अर्थात २० अर्ब रुपैयाँ खर्च गर्ने उल्लेख छ ।

सोही सहमतिअनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रले ओगट्ने करिब ४ सय वर्गकिलोमिटरको क्षेत्रमा आगामी आर्थिक वर्ष विद्युत वितरण प्रणाली अन्डरग्राउण्ड गर्ने कार्य सुरु गर्न लागिएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट भाषणमा पनि कोठमाडौं शहरका केही स्थानमा भूमिगत अर्थात् अन्डरग्राउण्ड वितरण लाइन निर्माण थाल्ने उल्लेख गरेको छ ।

त्यसैगरी, विद्युत वितरण प्रणालीलाई सुदृढ तुल्याउन स्मार्ट मिटर र ग्रीड प्रणाली लागू गर्ने कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिँदै उपत्यकामा विद्युत चुहावट नियन्त्र ण गर्ने सरकारको लक्ष्य छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले उर्जा क्षेत्रमा ६२ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट छुट्याएको छ । सरकारले बजेटमार्फत उज्यालो नेपाल अभियान अन्तगर्त आगामी ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणासमेत गरेको छ ।


पुष्प दुलाल