भरतपुरमा पुनः मतदान गर्न कांग्रेसको माग




चितवन । नेपाली कांग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गर्न माग गरेको छ । कांग्रेस चितवन कार्यसमितिले विज्ञप्ती जारी गर्दै पुनः मतदान गर्न माग गरेको हो ।
कांग्रेसको चितवनको बैठकपछि आज एक विज्ञप्ति जारी गर्दैै नेपाली कांग्रेसले निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदानको माग गरेको जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

राति मतगणना भइरहेको अवस्थामा भएको घटनाको खेद व्यक्त गर्दै सो पार्टीले घटनाबारे छानबिन गर्न र दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ । पटक पटक मतगणना व्यवस्थित गर्न माग गर्दा व्यवस्थित चासो नदेखाएकाले उक्त घटना भएको कांग्रेसको निष्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ – ‘वडा नं १९ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानीयतह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान गर्नसमेत जोडदार माग गर्दर्छौं ।’

गएराति ११ः४४ बजे भरतपुर महानगरको मतगणनास्थलमा मतपत्र च्यातिएपछि अहिले मतगणना स्थगित भएको छ । महानगरका २९ वटा वडामध्ये २७ वटा वडाको मतगणना भइसकेको छ । वडा नं १९ को मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो भने २० नंको मतगणना गर्न बाँकी छ ।


क्लिकमान्डु