निर्वाचन आयोगले भन्यो- भरतपूरको मत गणना रोकिएकै छैन




काठमाडौं । निर्वाचन आयोगका सचिब गोपीनाथ मैनालीले भरतपूर महानगरपालिकाको मत गणना नरोकिएको बताएका छन् । भरतपूर महानगरको मत गणना रोकिएको हल्ला चलेपनि सचिब मैनालीले मत गणना भइरहेको बताएका हुन् ।

‘मत गणना रोकिएको भन्ने हल्ला सुनेपछि मैले भर्खरै मात्र सम्पर्क गरेको थिएँ, सामान्य विवादले ५/१० मिनेट मात्रै रोकिएको रहेछ, विबाद समाधान भयो, मत गणना भइरहेको छ,’ सचिब मैनालीले क्लिकमाण्डूसँग भने ।

मतान्तर कम हुदै गएपछि र अन्तिम नतिजा आउँन लागेपछि एमाले र माओवादी केन्द्र समर्थकहरुले मत गणनास्थल वरिपरी नारावाजी सहित प्रदर्शन गरेका थिए । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो । अहिले स्थिति सामान्य भइसकेको चितवन सम्वाददाताले जानकारी दिएका छन् ।

सचिब मैनालीका अनुसार अब २ वटा वडाको करिब ६ हजार २ सय मत गणना बाँकी छ । अहिलेसम्म भरतपूर महानगर प्रमुखमा ४० हजार ९८० मत सहित एमाले उम्मेदवार देबी ज्ञवाली अग्रस्थानमा छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाल ४० हजार १९६ मत प्राप्त गरेकी छन् । ज्ञवाली र दाहालको मत अन्तर ७८४ छ ।


क्लिकमान्डु