यी ५ महिला जसले अर्बौं तलब खान्छन्



काठमाडौं । लिङ्गका आधारमा पारिश्रमिक तोक्ने प्रवृत्तिले धेरै समाजहरुमा जरो गाडेको छ । तर, कार्यकारी तहमा भने यस्ता भेदभाव नभए झैं लाग्छ ।

बिश्वको २०० जना उच्च पारिश्रमिक लिने कार्यकारीहरुको सूचीमा १७ जना महिलाहरु समावेश छन् । शुरुमा यो संख्या निकै सानो लाग्छ ।

तर, ‘फर्चुन ५००’ सिइओको सूचीमा २१ जनामात्र महिला कार्यकारी समावेश छन् भन्ने तथ्यलाई पनि हेक्का राख्ने हो भने यो संख्या त्यती सानो लाग्दैन ।
सबैभन्दा बढी तलब बुझ्ने महिला कार्यकारीको सूचीको पहिलो स्थानमा ‘ओरेकल’ को सह–कार्यकारी साफ्रा काट्ज पर्छिन् । उनले सन् २०१५ मा ५ करोड ७० लाख डलर पारिश्रमीक बुझिन् । यसमा तलब, सेयर लगायत सुबिधा समावेश छन् ।

उनी र उनका अन्य समकक्षी कार्यकारीहरुको पारिश्रमीकलाई अधिकाशं सेयरधनीहरुले बिरोध गरेका र त्यसको बिरुद्धमा मतदानसमेत गरेका थिए ।
यस सूचीको दोस्रो स्थानमा गुगलको ‘चिफ फाइनानसियल अफिसर’ रुथ पोरत छिन् । उनको कुल पारिश्रमिक ४ करोड १० लाख डलर थियो, जसमा ५० लाख डलर बोनस थियो ।

 

नाम पद कम्पनी पारिश्रमीक (करोड अमेरिकी डलर)
साफ्रा काट्ज सह—प्रमुख कार्यकारी आरेकल ५.७
रुथ पोरत सिएफओ गुगल ४.१
मेरी बारा प्रमुख कार्यकारी जनरल मोर्टस ३.६
मेरीलीन हिउसन प्रमुख कार्यकारी लकहिड मार्टिन २.८३
एन्जीला एहरेन्डट्स बरिष्ठ उपाध्यक्ष एप्पल २.८

 

यो सूचीको तेस्रो स्थानमा जनरल मोर्टसकी प्रमुख कार्यकारी मेरी बारा छिन् । उनले सन् २०१५ मा ३ करोड ६० लाख डलर पारिश्रमीक बुझिन् ।

सूचीको चौथो स्थानमा लकहिड मार्टिनकी प्रमुख कार्यकारी मेरीलीन हिउसन छिन् । उनले सन् २०१५ मा २ करोड ८३ लाख पारिश्रमीक बुझिन् । लकहिड मार्टिन सुरक्षा प्रबिधि सम्बन्धि काम गर्ने अमेरिकी कम्पनी हो ।

सूचीको पाँचौ स्थानमा एन्जीला एहरेन्डट्स छिन् । उनी एप्पलको बरिष्ठ उपाध्यक्ष हुन् । उनले २ करोड ८० लाख डलर पारिश्रमीक बुझेकी थिइन् । उनी सन् २०१४ मा भने बिश्वमै बढि पारिश्रमीक बुझ्ने महिला कार्यकारीको सूचीमा पहिलो स्थानमा थिइन् । सन् २०१४ मा उनले बरबेरी भन्ने कम्पनीबाट एप्पल आउँदा ८ करोड १० लाख डलर बुझेकी थिइन् ।

उच्च कार्यकारी पदमा बस्ने महिलाहरु भने तल्लो तहकाले झैं भेदभाव पूर्णपारिश्रमिकको शिकार हुनु पर्दैन भन्ने कुराको पुष्टि यी तथ्यहरुले गर्छन् । विश्वका १०० ठूला सार्वजनिक कम्पनीका महिला कार्यकारीहरु आफ्ना पुरुष समकक्षीहरु भन्दा बढी पारिश्रमिक बुझ्छन् भन्ने बिभिन्न अध्ययनहरुले पनि पुष्टि गरेका छन् ।


क्लिकमान्डु