जनकपुरमा टेलिफोन देखि खानेपानीसम्म बन्द



फाईल फोटो

जनकपुरधाम । एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत् सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ ।

आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पुयाई १५०० जनालाई सञ्चारविहीन बनाएको छ । नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण काफ्ले आयोजनाले अर्बौंको क्षति पुयाएकाले तत्काल मर्मत कार्य सम्भव छैन भन्छन् ।

“प्रजिअ र आयोजना प्रमुखलाई क्षतिबारे ध्यानाकर्षण गराउँदा समेत सकारात्मक पहल नभएकाले मर्मतको सम्भावना क्षीण हुँदै गएको छ” उनले भने, “प्रमुख जिल्ला अधिकारीले यो समस्यालाई गम्भीरतापूर्वक नलिएका कारण मर्मत अनिश्चित बनेको हो।”

यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ ।

सडक आयोजनाले खानेपानीका पाइपलाई समेत ठुलो क्षति पुयाई हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ ।

खानेपानीको पाइपमा भएको क्षतिले सडकमा पानी खेर गइरहेको छ भने, ग्राहक पानीका लागि विभिन्न विकल्प प्रयोग गर्न बाध्य भएका छन् ।

तापक्रम वृद्धिसँगै कल र इनारका पानी पनि सुकेकाले बजारबाट पानी किनेर दैनिकी चलाइरहेका छन् ।

त्यस्तै नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर र कार्यालय परिसरमा नालाको पानी पसेको छ ।

समन्वयको अभाव विद्युत्का खम्बा सार्ने काममा पनि देखिएको छ ।


क्लिकमान्डु