स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आर्थिक नीति आवश्यकः अर्थशास्त्रीहरु



काठमाडौं । आर्थिक नीति बनाउँदा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने किसिमको बनाउनुपर्ने अर्थशास्त्रीहरुले बताएका छन् । उनीहरुले राजनीति भन्दा आर्थिक विकासलाई महत्वदिनुपर्ने भन्दै आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा रामशरण महतले अहिलेको अवस्थामा कुनैपनि स्पष्ट आर्थिक एजेण्डाहरु विश्वभर लागू नभएको भन्दै हरेक मुलुक एक आपसमा अन्तरसम्बन्धित भएको बताए । उनले आत्मनिर्भर अर्थतन्त्र मात्र हुनेहो भने वैदेशिक व्यापारको आवश्यकता नहुने भन्दै स्वदेशी उत्पादनलाई संरक्षण गर्नुपर्ने बताए ।

‘सरकारले आफ्ना उत्पादनहरुको रक्षा गर्न उपयुक्त नीति अपनाउनुपर्ने छ,’ उनले भने, ‘मुलुकका हरेक क्षेत्रमा उदारीकरण भएको र यसले विदेशप्रतिको निर्भरता घटेको छ ।’ पूर्वअर्थमन्त्री डा महतले अब राजनीतिक भन्दा पनि आर्थिक नीतिलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै नेपाल अहिले कामै नगरि खाने मुलुक बन्न थालेको टिप्पणी गरे ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्वतन्त्र व्यापार र उदारीकरण आफ्नो देशको लागी हुने भन्दै कसैको एउटा सुत्र प्रयोग गर्दा जवाफदेहि नदेखिएको बताए । ‘वल्र्ड बैंक र आईएमफएम को फर्मुला मात्र बोकेर हिँड्दा गलत भयो,’ उनले भने ।

पूर्व अर्थमन्त्री पाण्डेले पूर्वाधारमा कसरी बढाउने भन्ने विषय महत्वपूर्ण भएको भन्दै पूर्वाधार कमजोर हुँदा समस्या देखिएको जिकिर गरे । ‘हाम्रो पूर्वाधार ‘वीक’ हुँदा समस्या भयो । बिजेनस कम्पिटिटिभ छैन् । पूर्वाधारले कष्ट अफ डुईंग बिजनेस घटाउँछ,’ उनले भने । स्वदेशी उत्पादनहरुलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।

त्यसैगरि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गर्भनर डा. युवराज खतिवडाले पुस्तकले नयाँ विषयलाई बाहिर ल्याएको भन्दै आयात प्रतिस्थापन कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्ने बताए । उनले अहिले जमीन र पानीको नीतिमा राजनीतिक द्धन्द भएको भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठाए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल, अर्थशास्त्री डा. डिल्लिराज खनाललगायतका अन्य अर्थशास्त्रीहरुले पुस्तकका बारेमा आफ्ना भनाईहरु राखेका थिए । त्रिभुवन विश्वविद्यालयका केन्द्रिय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डा. राम प्रसाद ज्ञवालीद्धारा सम्पादित पुस्तकमा सोहन कुमार कर्ण, रश्मी शिल्पकार, देवराज दाहाल, चन्द्र देव भट्ट, डा. डिल्लिराज खनाल, प्रकाश कुमार श्रेष्ठले योगदान गरेका छन् । आठ खण्डमा विभाजित पुस्तकको मूल्य ५०० रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु