भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ



तनहुँ। जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ ।

भूकम्प पीडितको लगत यही वैशाख १५ भित्र पठाउन गत चैत ८मा सम्बन्धित निकायमा सिफारिस गरी पठाएकामा सम्बद्ध गाउँपालिका  र नगरपालिकाले सम्झौता गरी पठाउनुपर्नेमा हालसम्म नआएको जिल्ला समन्वय समितिका अधिकारी  बद्रीप्रसाद तिवारीले जानकारी दिए ।

जिल्लामा भूकम्पबाट पीडित १३ हजार ८२९ मध्ये  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्राथमिकतामा परेका सात हजार ५३४ जनालाई जिल्ला समन्वय समितिले सम्बन्धित गाउँपालिका र नगरपालिकामा सम्झौताको लागि पठाएको थियो ।  बाँकी छ हजार २९५ जनाको विवरण भने अझै केन्द्रबाट आएको छैन ।

यदि समयमै सम्झौता गरेर आएको भए भूकम्पपीडितले निजी आवास सम्झौताअनुरुप रु ५० हजार पाउने थिए । गाविस सचिवले स्थानीय तहको निर्वाचनपछि आउने जनप्रतिनिधिले सम्झौता गरिदिन्छ भन्ने र जनप्रतिनिधिले भर्खरै पदभार सम्हालेका कारण पनि त्यसको चपेटामा भूकम्पपीडित पर्न गएको बताइएको छ ।


क्लिकमान्डु