एक सातामै ४३ प्रतिशतले किन बढ्यो हिमालयन डिस्टिलरीको सेयर मूल्य ?




काठमाडौं । पछिल्लो सातादेखि हिमालयन डिस्टिलरीको सेयर मूल्य बढिरहेको छ ।
गत विहीवार प्रतिकित्ता ५ सय ७२ रुपैयाँमा पाइने हिमालयन डिस्टिलरीको सेयर एकसातामा २ सय ४८ रुपैयाँले बढेको छ ।

४१ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको कम्पनीमा सिमित व्यक्तिसँग मात्र यसको सेयर छ ।

बिगत ४ दिनको कारोबार दिनमा ३ दिन १० प्रतिशत र एक दिन ८ प्रतिशतले सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले देखाएको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बिवरण प्रकाशित गरेपछि मुल्य बढ्न थालेको देखिन्छ ।

कम्पनीको वित्तीय बिवरण हेर्दा गत बर्षकोभन्दा प्रगति गरेको भए पनि त्यस्तो उल्लेख्य केही देखिंदैन । कम्पनीले बिबिध कारणले आफ्ना लोकप्रिय उत्पादनहरु पनि उत्पादन गर्न सकेको छैन ।

कम्पनीको बिगत ३ बर्षको लाभांश हेर्दा भने राम्रै देखिन्छ । आर्थिक बर्ष ०७०/७१ मा कम्पनीले १०.५२ प्रतिशत नगद लाभांश बितरण गरेको छ । यसैगरी ०७१/७२ र ०७२/७३ मा कम्पनीले २० प्रतिशत नगद लाभांस बितरण गरेको थियो । कम्पनीले यो समयमा कुनै हकप्रद सेयर बिक्री गरेको छैन ।

बजार सम्बन्ध स्रोतका अनुसार कम्पनीको मुल्य अहिले प्रतिकित्ता एक हजार पुर्याउने गरी बढाउने तयारी केही सेयर ब्रोकर र लगानीकर्ताको छ ।

कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी १७.५० रुपैंयाँ छ भने मुल्य आम्दानी अनुपात ३२.३४ गुणा छ । गत बर्ष प्रतिसेयर आम्दानी १४.३३ रुपैंयाँ थियो भने मुल्य आम्दानी अनुपात ३४.५५ गुणा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६० रुपैंयाँ छ । र, प्रतिसेयर कुल आम्दानी अनुपात १८०.८५ छ ।

कम्पनीले बिगतदेखि नै उत्पादन गर्दै आएको आफ्नो मुख्य ब्राण्ड चालु आर्थिक बर्षमा उत्पादन गर्न नसके पनि गत बर्षको सोही अबधिमा भन्दा कारोबार बढाएको आफ्नो वित्तीय विवरणमा जनाएको छ । कम्पनीले रोयल स्ट्यागको उत्पादन बन्द भएपनि रोयल टिजर नामको रक्सी ल्याएको थियो । तर, यसले खासै बजारमा पकड जमाएको छैन । यस्तै ब्लेन्डर्स प्राइड उत्पादन गर्न सकेको छैन ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ६ करोड ७४ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । गत बर्ष सोही अबधिसम्म कम्पनीले ५ करोड ५२ लाख रुपैंयाँ खुद नाफा कमाएको थियो ।

हिमालयन डिस्टिलरीको ब्यालेन्ससिटमा कम्पनीको नाफा बढेर आउने केही सेयर ब्रोकरलाई जानकारी दियो ।

‘हिमालयन डिस्टिलरीको सेयर सिमित व्यक्तिसँग छ, अहिले सेयर ब्रोकर र सिमित लगानीकर्ता मिलेर यसको मूल्य बढाएका छन्,’ एक लगानीकर्ताले भने । ब्रोकरले कम्पनीको सेयर हुनेसँग अफ कारोबारमा मुल्य फिक्स गरेर सेयर उठाएका थिए । यसको प्रभाव अहिले बजारमा परेको हो । बजार सम्बन्ध स्रोतका अनुसार कम्पनीको मुल्य अहिले प्रतिकित्ता एक हजार पुर्याउने गरी बढाउने तयारी केही सेयर ब्रोकर र लगानीकर्ताको छ । कम्पनी उत्पादन गर्ने प्रोडक्टमा गोल्डन ओकको बजार अहिले तराई तथा राजमार्गमा अत्याधिक बढी छ । जसबाट कम्पनीको कारोबार बढाउन मद्दत पुगेको छ ।

कस्तो कम्पनी हो हिमालयन डिस्टिलरी ?
हिमालयन डिस्टिलरी नेपालमा मदिरा उत्वादन गर्ने एक प्रतिष्ठित कम्पनी हो । सन् १९८५ मा स्थापना भएको यो कम्पनी सन् २००० मा पब्लिक कम्पनी भएको थियो । सेयर बजारमा सूचिकृत मदिरा उत्पादन गर्ने एक मात्र कम्पनी हो । नेपालमा मदिरा व्यवसायका बादशाह मानिने विजयबहादुर शाहको स्वामित्वमा कम्पनीको ७५ प्रतिशत जति सेयर छ । शाहको जावलाखेल डिस्टिलरी नाम गरेको निजी कम्पनी छ । जसले रुस्लान भोड्काको उत्पादन गर्छ ।

कम्पनीले बिभिन्न मदिराजन्य उत्पादनहरु उत्पादन गदै आएको छ । कम्पनीको बार्षिक १ करोड १२ लाख लिटर मदिरा उत्पादन गर्ने क्षमता रहेको छ ।

रोयल ट्रेजर ह्विस्की, गोल्डेन ओक र हिमालयन आइला हिमालयन डिस्टिलरीका उत्पादनहरु हुन् ।


क्लिकमान्डु