राजपत्रमा सुचना प्रकाशित गरेर काम सुरु गर्दै बाहिरी चक्रपथ आयोजना




काठमाडौं । बाहिरी चक्रपथ निर्माणका लागि विस्तृत साम्भाव्यता अध्ययन (डिपिआर) र जग्गा रोक्काको सुचना राजपत्रमा प्रकाशित गरिने भएको छ ।

राजपत्रमा सुचना प्रकाशित गरेर सरकारले निर्माण प्रक्रिया अगाडि बढाउन लागेको हो । राजपत्रमा प्रकाशित सुचना कानुन बन्ने भएकोले आयोजना कार्यान्वयनमा सहज हुने भन्दै राजपत्रमा सुचना प्रकाशित गर्न लागिएको हो ।

डिपिआर र जग्गा रोक्काको सुचना राजपत्रमा प्रकाशित गरिन लागेको बाहिरी चक्रपथ निर्माण आयोजनाका शाखा अधिकृत धुव्र सापकोटाले जानकारी दिए ।

‘डिपिआर र जग्गा रोक्काको सूचना राजपत्रमा प्रकाशित हुँदैछ, राजपत्रमा सूचना प्रकाशितका लागि सबै प्रकृया पूरा गरिसकिएको छ, त्यसका लागि म अहिले कानून मन्त्रालय जादैछु,’ सापकोटाले क्लिमाण्डूसँग भने ।

आयोजनाले बाहिरी चक्रपथको पाइलट प्रजेक्टको रुपमा चोभार–संतुगल खण्डलाई लिएको छ । राजपत्रमा प्रकाशित हुने डिपिआर र जग्गा रोक्काको सुचना चोभार–संतुगल खण्ड निर्माणको लागि भएको सापकोटा बताउँछन् ।

बाहिरी चक्रपथ आयोजनाले चोभार–संतुगल खण्डका लागि ४ हजार ४ सय रोपनी जग्गा रोक्का गर्न लागेको हो । चोभार–संतुगल खण्डमा ६.६ किलोमिटर लामो सडक बन्ने छ । आयोजनाले ल्याण्ड पुलिङ अवधारणा अन्तरगत बाहिरी चक्रपथ निर्माण गर्ने भएकाले ४ हजार ४ सय रोपनी जग्गा अधिकरण गर्न लागेको हो ।

आयोजनाले सडक आसपास व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले अतिरिक्त जग्गा अधिकरण गर्ने लागेको हो । अधिकरण गरिएको जग्गामा सुविधासम्पन्न सहरका लागि आवश्यक पूर्वाधार निर्माण गरेर पुनः स्थानीयलाई दिने आयोजनाको अवधारणा छ । त्यसका लागि बाहिरी चक्रपथ क्षेत्र भित्र पर्ने जग्गा आयोजनले किनबेच र नयाँ संरचना निर्माणमा रोक लगाउन लागेको छ ।

‘बाहिरी चक्रपथ ल्याण्ड पुलिङ अवधारणमा बन्ने हो, त्यसका लागि आयोजना भित्र पर्ने जग्गा अधिकरण गर्नु पर्ने हुन्छ, व्यवस्थित सहरका लागि आवश्यक पूर्वाधार निर्माण गरिन्छ,’ सापकोटाले क्लिकमाण्डूसँग भने ।

आयोजनाले नयाँ संरचना तयार पार्ने क्रममा पहिला तयार भएका भौतिक संरचनामा क्षति पूग्न सक्ने भएकोले आयोजना सम्पन्न नहुँदासम्म नयाँ संरचना बनाउन आयोजनाले रोक्ने भएको हो ।

बाहिरी चक्रपथको मूल सडकको चौडाई ५० मिटर हुन्छ । यस बाहेक आयोजनाले सडक केन्द्रबाट दायाँ २ सय ५० मिटर र बायाँ २ सय ५० मिटर जग्गा अधिकरण गर्नेछ ।


क्लिकमान्डु