स्वास्थ्य मन्त्री गगन थापाको समर्थनमा नेपाली औषधी उद्योगहरु



काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले करिब ३७ वटा औषधी उत्पादनमा नेपाली उद्योग आत्मनिर्भर भएको भन्दै आयात प्रतिबन्ध गरेको निर्णयलाई नेपाली औषधि उद्योगीहरुले समर्थन गरेका छन् । स्वदेशी औषधि उद्योगीहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री थापाले ल्याएको सरकारी नीतिको स्वागत गर्दै यसले नेपाली औषधी उत्पादकहरुलाई उत्साहित बनाएको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधी उत्पादक संघ र नेपाल आयुर्वेदिक औषधी उत्पादक संघले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल प्रधानले राष्ट्रिय उद्योग फस्टाउनुपर्ने भन्दै सरकारले स्वदेशी उद्योगलाई प्रबद्र्धन गर्न प्रजातन्त्रको पुनस्थापनापछि पहिलो पटक नीति ल्याउनु सकारात्मक भएको बताए । उनले पहिले आफ्नो घर बनाउनुपर्ने भन्दै नेपाली औषधी उद्योगको विकास गरिनुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले औषधी उत्पादनलाई संरक्षण गर्न नसके व्यापार घाटा कमगर्न नसकिने बताए । उनले राष्ट्रिय नीतिसहित सरकारले सहि निर्णय गरेको भन्दै समृद्धि आवश्यक भए सम्पूर्ण आयात प्रतिस्थापन गर्नुपर्ने स्पष्ट पारे ।

त्यस्तै नेपाल आयुर्वेदिक औषधी उत्पादक संघका अध्यक्ष विनोद पौडेलले आयुर्वेद उत्पादक कम्पनीहरु जीएमपी लागू गर्न अग्रसर भएको भन्दै आयुर्वेदिक औषधी उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताए ।

नेपाल औषधी प्रबर्दक संघका महासचिव गान्धि शर्माले नेपाल ३७ वटा औषधी उत्पादनमा सक्षम भईसकेको भन्दै सरकारको नीति विरुद्ध आफूहरु नजाने बताए ।

हाल नेपाली औषधी उद्योगमा करिब २६ अर्ब रुपैयाँ लगानी रहेको छ भने करिब ४५ प्रतिशत बजार हिस्सा ओगटेको छ । अहिले पनि करिब ५२ प्रतिशत बजार भारतबाट आयातित औषधीले ओगटेको र बाँकी बजार तेस्रो मुलुकबाट आयात गरेको औषधीमा निर्भर रहेको जानकारी नेपाल औषधी उत्पादक संघका उपाध्यक्ष दिपक प्रसाद दाहालले जानकारी दिए । उनले नेपाली औषधी अन्तराष्ट्रिय बजारमा निर्यात गर्न योग्य भएको भन्दै शंका लागेमा गुणस्तर परिक्षण गर्न चुनौती दिए ।

नेपाल सरकारको नेपाली औषधी उद्योगको प्रबद्र्धन र प्रोत्साहन गर्ने नीतिले स्वदेशी उद्योगले कम्तिमा २० अर्बको विदेशी औषधी आयातलाई प्रतिस्थापन गर्ने संघको दाबी छ । हाल नेपाली औषधी उद्योगले करिब १५ हजारलाई दक्ष रोजगारी दिएको र २ लाख जना अप्रत्यक्षरुपमा आबद्ध रहेको भन्दै अहिले बजार माग पूर्णरुपमा धान्न सक्ने अवस्थामा पुग्दा पनि सरकारको प्रोत्साहन नहुँदा पूर्णरुपमा क्षमता प्रयोग गर्न नसकेको संघको भनाई छ ।

केहि दिनअघि स्वास्थ्य मन्त्रालयले ३७ वटा औषधीको आयातमा प्रतिबन्धलाई लगाएको थियो । जसको औषधी आयातकर्ताहरुले विरोध गरिरहेका छन भने सरकारले स्वदेशी उद्योग औषधी उत्पादनमा सक्षम भएको भन्दै आयात प्रतिबन्धलाई निरन्तरता दिने प्रयासमा लागिरहेको छ ।


क्लिकमान्डु