हप्ताको एक दिन ‘ब्रत’ बस्ने हिंस्रक जङ्गेको बसाइ सराइ होला त सूर्यविनायक ?




काठमाडौं । ललितपुर महानगरपालिकाको मुटुमा रहेको जावलाखेमा छ मुलुककै सबैभन्दा पुरानो चिडियाखाना । वि.सं १९८९ सालमा तत्कालिन श्री ३ महाराज जुद्ध शमशेरले ब्यक्तिगत प्रयोजनका लागि खोलेका थिए, सदर चिडियाखाना ।

चिडियाखानामा छिर्ने बित्तिकै देखिने राणाजीको दिदीको गजक्क परेर उभिएको पूर्णकदको शालिक र त्यसको करिब ५० मिटर पछाडि बाँयापट्टी उनकी आमाको कुनै हिन्दु देवीले आफ्ना भक्तहरुलाई आर्शिवाद दिने भाव भङ्गीमा थापना गरिएको शालिक जुद्ध शमशेरको शासनका अवशेसहरु हुन् । चिडियाखानाको मुल गेटको दाँया पट्टी जुद्धको जुवा खेल्ने घर पनि छ ।

‘यो निकै जिर्ण भैसकेको थियो । तर, अहिले यसको जिर्णोद्धर गरेर चिडियाखानाको बैठक कक्ष बनाइएको छ,’ चिडियाखानाका सह—क्युरेटर गणेश कोइराला बताउँछन् ।

जुद्ध शमशेरले बिभिन्न प्रजातिका चराचुरुङगी र जनावरहरुलाई आफ्नो मनोरञ्जनका लागि खोरमा थुने । उनका ठूलो बुबा जङ्गबहादुरले शक्तिका लागि नेपाल राज्यलाई नै खोर बनाएर सबै जनतालाई त्यहाँ थुनेकै थिए । जुद्धले पनि त्यसैलाई निरन्तरता दिए ।

मान्छे चेतनशील प्राणी भएका कारण आफ्ना स्वतन्त्रताका लागि लडे । प्रजातन्त्र ल्याए, लोकतन्त्र भित्राए, गणतन्त्रलाई पनि स्वागत गरे ।

मान्छेले निरङ्कुशतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा गरिसक्दा चिडियाखानाका जनावर र चराचुरुङ्गीको अवस्थामा पनि केही सुधार आएको छ । समाजमा आएका परिवर्तनका केही छायाँहरु यहाँ पनि नपरेका होइनन् ।

खोरहरु फराकिला भएका छन् । औषधी उपचारको अवस्था सुधारिएको छ । तर, पनि १२० रोपनीको सानो क्षेत्रफल ठूला स्तनधारी जनावरका लागि धेरै साँघुरो हो । त्यसैले उनीहरु मान्छेको बिवेक र चेतनालाई नै आफ्नो स्वतन्त्रताको पनि जिम्मा दिएर टोलाइरहेका जस्ता देखिन्छन् ।

चिडियाखानामा आगन्तुक
बर्सेाि १० लाख हाराहारी मानिस आउँछन् चिडियाखाना घुम्न । बि.सं ०५२÷५३ मा ७ लाख ८४ हजार मानिस आएका थिए । बि.सं ०६२÷६३ सम्म आइपुग्दा यो संख्या ८ लाख ९५ हजार पुग्यो । गत बर्ष भने यो संख्याले १० लाख नाघिसकेको छ । काठमाण्डौंमा खुल्ला क्षेत्रको कमी हुनु र सहरको धुवाँ धुलोबाट एकैछिन सुस्ताउने पार्क पनि नभएको कारण चिडियाखानामा आगन्तुकहरुको संख्या बढ्न थालेको बताउँछिन प्रशासन शाखाकी कर्मचारी मनिसारा दहाल ।

‘काठमाण्डौं बाहिरबाट आउने मानिसहरुको लागि पनि पशुपति पछि सबैभन्दा आकर्षक गन्तब्य चिडियाखाना नै भएको छ ,’ दाहाल भन्छिन् ।

चिडियाखानाको ब्यवस्थापन
श्री ३ महाराज जुद्ध शमशेरले खोलेको यो चिडियाखाना बि.सं २००७ सालपछि नेपाल सरकारको स्वामित्वमा आयो । र, यसलाई २ं०११ सालदेखि सर्वसाधारणको लागि खुल्ला गरियो । त्यसपछि नेपाल सरकारले बि.सं ०५२ सालदेखि यो चिडियाखाना ३० बर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई प्रदान गरेको छ । त्यसपछि फेरि अर्को ३० बर्ष थपिने प्राबधान छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका बिभिन्न ७ योजनामध्येको यो पनि एक योजना हो । अन्य योजनाहरुमा बर्दिया , सुक्लाफाँटा, मनास्लूलगायत पर्छन् ।

नेपाल सरकारले अहिले भक्तपुरको सूर्यबिनायक नगरपालकिास्थित जंङ्गललाई पनि चिडियाखानाको रुपमा बिकास गर्ने योजना अघि सारेको छ ।

‘त्यहाँ अहिले जंङ्गल घेर्ने काम भैरहकको छ,’ दहाल बताउँछिन् ।

अहिले यो जङ्गल नेपाल सरकारको मातहत रहेको हुँदा यसको सदर चिडियाखाना वा राष्ट्रिय संरक्षण कोषसँग कुनै सम्बन्ध छैन । भबिष्यमा यहाँका ठूला स्तनधारी जनावरहरुलाई भक्तपुर सारेर साना जनावर र चराचुरुङगीलाई मात्र सदर चिडियाखानामा राख्ने योजना नभएको होइन । तर, अहिले कुनै निर्णय भने भैसकेको छैन ।

१२० रोपनी क्षेत्रफलमा फैलिएको यस चिडियाखानामा बाघ, भालु, हात्ती, गैंडाजस्ता स्तनधारी र मुनाल, खोयाहाँस, अष्ट्रिच जस्ता पन्छी तथा बिभिन्न घस्रने जीव र माछा रहेका छन् । सह—क्युरेटर गणेश कोइरालाका अनुसार हाल यहाँ १११ प्रजातिका करिब ८ सय जिवजन्तु छन् ।

आगन्तुकहरुका लागि सबैभन्दा ठूलो आकर्षणको केन्द्र भनेको चाँही बाघ नै हुन् । हाल दुई बाघ छन् यहाँ । एउटाको नाम कान्छा, अर्कोको जङ्गे ।

‘कान्छा चिडियाखाना मै जन्मेको हो, जङ्गेलाई चाँही बर्दियामा घाँस काट्न गएको एक महिलालाई मारेपछि यहाँ ल्याइएको हो,’ उनीहरुलार्ई खाना खुवाउनेदेखि हेरचाह गर्ने एक कर्मचारीले भने ।

कान्छा चाँही यहीँ जन्मेकाले शान्त स्वभावको रहेछ भने जङ्गे चाँही केही रिसाहा । जंङ्गेले करिब १५ बर्ष अघि एक गाउँले महिलालाई मारेको रहेछ । ठिक त्यही समय जुनबेला नेपाल १७ हजार मान्छे मरेको भिषण युद्धको चपेटामा थियो । त्यस युद्धमा मान्छे मार्ने मराउने दुवै पक्षमा मानिसले आफ्ना कदमको राजनीतिक र दार्शनिक बचाव गरे र उन्मुक्ति पाए । अझ राजनीतिक र प्रशासनिक ‘करिअर ग्रोथ’ को ‘पुरस्कार’ पनि पाए ।

जङ्गेले भने आफ्नो ‘कदम’ को पुष्टि गर्न सकेन । र, आजिवन खोरमा कोचिन बाध्य भयो ।

यी दुई सुन्दर जीव दिनको ६/६ किलो मासु खान्छन् । ३/३ किलोको दुई दुई टुक्रा । हप्ताको एक दिन भने ‘ब्रत’ बस्छन् रे । पेट सफा गर्न । ‘अलिअलि घाँस खान्छन्’, कर्मचारी भन्छन् ।

चिडियाखानाको आम्दानीको कुरा गर्दा आगन्तुकहरुसँग उठाउने शुल्कबाहेक अरु कुनै स्रोत नभएको सह—क्युरेटर कोइराला कताउँछन् । नेपाल सरकारबाट कुनै अनुदान छैन । आगन्तुकबाट उठ्ने शुल्कले नै जनावरको खानपिन, औषधि उपचार, खोरहरुको निमार्ण तथा संरक्षण, प्रशासनिक खर्च, भौतिक निर्माण र करिब ७० जना कर्मचारीको भरणपोषण हुँदै आएको छ । कुल रकमको १५ प्रतिशत राष्ट्रिय संरक्षण कोषलाई पनि बुझउनु पर्छ, जुन कुनै न कुनै रुपमा फेरि चिडियाखाना कै लागि खर्च हुने कोइराला बताउँछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष एक गैर नाफामुलक र जनावर संरक्षण तथा अनुसन्धानमा नेपाल सरकारलाई सघाउँदै आएको संस्था हो ।

चिडियाखानाको अर्थतन्त्र
आगन्तुकको शुल्क नै प्रमुख आम्दानी भएको यो चिडियाखानामा वयस्क मानिसको लागि १५०, बिद्यार्थीको लागि ९०, जेष्ठ नागरिकको लागि ९० र बालबालिका (१२ बर्ष मुनि) का लागि ५० रुपैंयाँ शुल्क तोकिएको छ । गत बर्षको साउन महिनादेखि यो शुल्क कायम गरिएको हो ।

‘बढेको शुल्कसँगै कुल आम्दानी १० करोड नाघ्ने अपेक्षा राखेका छौं’, सह—क्युरेटर कोइराला बताउँछन् । गत बर्ष कुल आम्दानी ८ करोड रुपैंयाँ थियो ।

गैरनाफामुलक संस्था भएकाले जति कमाए पनि बचत नहुने, बरु त्यही अनुसारको खर्चको योजना बन्ने कोइराला बताउँछन् ।

‘पैसा बचत गरेर बोनस खाने भन्ने चलन हुँदैन,’ उनी भन्छन् ।

जहाँनीया राणा शासनमा ब्यक्तिगत मनोरञ्जनका खालिएको संस्थाले बदलिंदो राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक परिबेशलाई आत्मसात गर्दै आफुलाई चुस्त ब्यवस्थापनको माध्यमबाट देशकै अग्रणी प्रकृति संरक्षण संस्था बन्नु सुखद कुरा हो ।

चिडियाखानाको मुल खर्च भनेको भौतिक पूर्वाधारको निर्माण नै हो । अहिले मात्र करिब ३ करोड रुपैंयाँको पूर्वाधार निर्माणको क्रममा छ । खोरहरुको मर्मत, निलगाइको लागि नयाँ खोर, अस्पताल निर्माण, किचेन लगायत पूर्वाधारहरुको काम तिब्र गतिमा भैरहेको छ ।

चिडियाखानाको अर्को ठूलो खर्च भनेको जनावरहरुको खान्की र कर्मचारीको तलब पनि हो । बर्सेनि जनावरहरुको खान्कीको लागि पौने दुई करोड रुपैंयाँ र कर्मचारीको तलबका लागि २ देखि ३ करोड रुपैयाँ लाग्ने गर्छ ।

चिडियाखानाका बिभिन्न कार्यक्रमहरु
सदर चिडियाखानाले जनावरहरुका संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण कामहरु गर्दै आएको छ । ‘फ्रेण्डस् अफ जु’ भनेर करिब २०० सय वटा स्कुलहरुमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । बिभिन्न स्कुलहरुमा पनि प्रकृति संरक्षणका बारेमा कार्यक्रमहरु भैरहन्छन् । बिद्यार्थीहरुलाई चिडियाखाना घुमाउने, जनावरहरुलाई खुवाउन लगाउने, उनीहरुको ब्यवस्थापनका बारे जानकारी दिने जस्ता कार्यक्रमहरु पनि सञ्चालन भैरहेका छन् ।

यस्ता कार्यक्रमहरुले बिद्यार्थीहरुमा प्रकृति संरक्षणको चेतना फैलिने र उनीहरुले आफ्ना घरपरिवारलाई पनि यसका बारे सचेत तुल्याउन सक्ने सह—क्युरेटर कोइराला बताउँछन् ।

जहाँनीया राणा शासनमा ब्यक्तिगत मनोरञ्जनका खालिएको संस्थाले बदलिंदो राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक परिबेशलाई आत्मसात गर्दै आफुलाई चुस्त ब्यवस्थापनको माध्यमबाट देशकै अग्रणी प्रकृति संरक्षण संस्था बन्नु सुखद कुरा हो ।

यद्यपि ठूला स्तनधारी जनावरहरुका लागि भने यो निकै साँघुरो छ । यसको समाधान सूर्यबिनायकमा खुल्दै गरेको ‘ओपन जु’ ले केही हदसम्म देला । नेपालीहरुले लडेर ल्याएको गणतन्त्रको असली कार्यान्वयन मानिसहरुको स्वतन्त्रतामा मात्र नभई नेपालमा पाइने समग्र जीवजन्तुको उचित संरक्षणमा पनि अभिब्यक्त हुनुपर्र्दछ ।