विपन्न परिवारका लागि एक हजार पक्की घर बन्दै



लहान। सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन (पक्की घर) निर्माण गरिने भएको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको बुधबार सदरमुकामका बसेको बैठकले जनता आवास घर निर्माण नगरपालिका र गाउँपालिका तथा घर सङ्ख्या टुङ्ग्याएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख मिलन आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठकले सिरहा क्षेत्र नम्बर १ अन्तर्गत लहान नगरपालिकाको वडा नम्बर ११ र १२ मा २४ वटा घर, वडा नम्बर  १३ र १४ मा २५ वटा घर, वडा नम्बर १५ मा १२ वटा घर, वडा नम्बर १६ मा ११ वटा घर, वडा नम्बर १८ मा ३४ वटा घर र वडा नम्बर २० मा १७ वटा घर निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै, क्षेत्र नम्बर २ अन्तर्गत साविक गाविस गाढा वडा नम्बर २, ३, ४, ५ र ६ मा १९ वटा, मझौरा वडा नम्बर २ र ४ मा २२ वटा, कचनारी वडा नम्बर २, ३, ४, ६, ७, ८ डुम बस्तीमा ४० वटा घर, इटहर्वा वडा नम्बर ३, ५, ६, ९ मा १८ वटा घर, कजरा वडा नम्बर ९ मा १० वटा र सखुवा नन्कारकट्टी वडा नम्बर ५ र ८ मा २० वटा घर निर्माण गर्ने निर्णय भएको प्रमुख आचार्यले जानकारी दिए।

क्षेत्र नम्बर ३ अन्तर्गत साविक गाविस इटाटार वडा २, ५, ६ र ९ मा २७ वटा, लगडी गोठ वडा नम्बर ९ मा २२ वटा घर, लगडी गडीयानी वडा नम्बर ९ मा २२ घर, पिपरा प्रपि वडा नम्बर ६ मा २२ घर, औरही वडा नम्बर १, ५, ८ र ९ मा २५ घर, सिरहा नगरपालिका–६ बसबिटामा २२ वटा घर निर्माण गर्ने निर्णय भएको छ ।

सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत साविक गाविस गौरीपुर वडा नम्बर ४, ५, ६ र ८ मा २० वटा, कविलासी वडा नम्बर ३, ४, ५, ६ मा २० वटा घर, फुलकाहाकट्टी वडा १ देखि ७ सम्ममा २० वटा घर, अयोध्यानगर वडा नम्बर १, ४, ६, ७ र ९ मा २० वटा घर, पिप्रा प्रधको वडा नम्बर १ देखि ५ सम्ममा २२ वटा घर, सुखीपुर नगरपालिकाको वडा नम्बर ७ र ९ मा २० घर, धनगढीमाई नगरपालिका वडा ३ मा २० वटा घर तथा बल्ही गाविस वडा नम्बर ५ मा २० वटा पक्की घर बनाउने निर्णय गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजले जनाएको छ ।

क्षेत्र नम्बर ५ अन्तर्गत गोलबजार नगरपालिका–२ को सङ्ग्रामपुर, गुरुधान र टुरकियामा २७, गोलबजार नगरपालिका ६ मा २७, गोलबजार नगरपालिका–३ जमदहमा २७, बडहारामाल वडा नम्बर ७ र ९ मा २७, रामपुर बिर्ता (हाल मिर्चैया नगरपालिका–१ मुसहरी टोलमा २७, मिर्चैया नगरपालिका वडा नम्बर ४, ५ र ६ मा २७ वटा घर निर्माण गर्ने निर्णय भएको छ ।

त्यस्तै सिरहा क्षेत्र नम्बर ६ अन्तर्गत साविक गाविस मझौलियाँ वडा नम्बर १, २, ३, ४, ७ स्थित दलित बस्तीमा ५० वटा घर, बेल्हा वडा नम्बर ३, ६, ८, ९ मा ३२ घर, कल्याणपुर जब्दी वडा नम्बर १, २, ७ र ९ मा ३० वटा घर, विष्णुपुर प्रम वडा नम्बर २ र ४ मा १० वटा घर, विष्णुपुर प्ररा वडा नम्बर २ मा १० वटा घर, महेशपुर वडा नम्बर ४ र ८ मा १५ घर तथा लक्ष्मीपुर प्रम वडा नम्बर २ र ४ मा १५ वटा घर निर्माण गर्ने निर्णय भएको प्रमुख आचार्यले बताए।

यसका साथै गत चैतमा आगलागीबाट घरबारविहीन भएका २९ परिवारलाई समेत चालु आवभित्रै पक्की घर बनाई दिने निर्णय गरेको छ । छनोट भएका बस्तीमा केही दिनभित्रैबाट घर निर्माणको काम सुरु गरिने र चालु आवभित्र करिब २५ प्रतिशत काम सकिने लक्ष्य लिएको प्रमुख आचार्यको भनाइ छ ।


क्लिकमान्डु