कुलमानसँगै १०५ मेगावाट बिजुली थपियो, अब छिट्टै ४५ मेगावाट थपिने




काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएसँगै देशबासीहरुले लोडसेडिङको मार खेप्नु परेन । घिसिङले ‘क्राइसेस म्यानेजमेन्ट’ गरेर उपभोक्ताहरुलाई लोडसेडिङ हुन नदिएको बताउँदै आएका छन् ।

कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि राष्ट्रिय प्रसारण लाइनमा बिजुली पनि थपिएको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा विभिन्न ८ आयोजनाबाट १ सय ५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जबकि गत वर्ष जम्मा ३० मेगावाट मात्रै विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको थियो ।

त्यस्तै, यो आर्थिक वर्षमै थप ४५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने विद्युत विकास विभागले जानकारी दिएको छ ।

प्राधिकरणमा नयाँ नेतृत्व आएपछि निर्माणधीन आयोजनाहरुलाई चाँडो सम्पन्न गर्न प्रोत्साहन गरेको थियो ।

‘लोडसेडिङ अन्त्य गर्नका लागि हामीले उत्पादन बढाउनुपर्ने अवस्था थियो, निर्माणधीन आयोजनाहरुलाई चाँडो उत्पादन गर्न प्रोत्साहन गर्यौं,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।

यस अवधिमा भविष्यमा लोलसेडिङ नहोस् भनेर ठूला आयोजनाहरु निर्माणको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

‘आगामी ३ वर्षभित्र राष्ट्रिय प्रसारणलाइनमा २५ सय मेगावाट बिजुली थपिने छ, ५÷७ वर्षपछि भने ६/७ हजार मेगावावट विजुली थपिने छ,’ घिसिङले भने ।

यी हुन् अहिलेसम्म विद्युत उत्पादन गरिसकेका आयोजनाहरु
१. झ्याँडी (२ मे.वा)
२. दरौदी (६ मे.वा)
३. टुंगुन ठोस्ने (४.३६ मे.वा)
४. खानी खोला (२ मे.वा)
५. अपर मस्र्याङदी (५० मे.वा)
६. अपर मादी (२५ मे.वा)
७. मियाँ खोला (०.९८ मे.वा)
८. हेवा खोला ए (१४.९ मे.वा)

यी हुन् यो आर्थिक वर्षमा विद्युत उत्पादन हुने आयोजनाहरु
१. जोगमाई खोला (७.६ मे.वा)
२. पुवा खोला (४ मे.वा)
३. अपर माई सि (६.१ मे.वा)
४. माई साना क्यास्केड (८ मे.वा)
५. सार्दि खोला (४ मे.वा)
६. द्वारी खोला (३.७५ मे.वा)
७. फावा खोला (५ मे.वा)
८. सभा खोला (४ मे.वा)
९. गेलुन खोला (३.२ मे.वा)


क्लिकमान्डु