लगानी बोर्डलाई ठूला पूर्वाधार परियोजनाका लागि प्रभावकारी बनाउनुपर्छः उद्योग मन्त्री



काठमाडौं । उद्योग मन्त्री एवं लगानीबोर्डका नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग  समन्वय गरि ठुला पुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापित गरिनुपर्ने बताएका छन् ।

मन्त्री जोशीलाई बोर्डको उपाध्यक्षको समेत जिम्मेबारी दिने निर्णय बुधबार सरकारले गरको हो ।

मन्त्री जोशीको सम्मानमा लगानी बोर्र्डको कार्यालयले बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले ठूला पूर्वाधारका लागि लगानी बोर्डलाई सशक्त निकाय बनाउनुपर्ने धारणा राखेका हुन् ।

लगानी बोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरुले रोजगारी, राजश्व तथा समग्र अर्थ व्यवस्थामा दिने योगदानबारे अनुसन्धान एवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्ने उनले बताए ।

मन्त्री जोशीले बोर्डको काममा आईपर्ने समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरी अगाडि बढ्न समेत सुझाव दिए । उनले लगानी बोर्डको कामलाई अझ सहज बनाउन लगानी बोर्ड ऐनमा आवश्यक संसोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन समेत दिए ।

सो अवसरमा उद्योग सचिव शंकर प्रसाद कोईरालाले पूँजीगत खर्च कमहुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानी बोर्डले अगाडि बढाएका परियोजनाको सहज कार्यान्वयनमा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी बोर्डले अगाडि बढाएका र तयार पारेका परियोजनाहरु एवं हाल परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराएका थिए ।


क्लिकमान्डु