भूकम्प र नाकाबन्दीको बेलाभन्दा करिब ८ प्रतिशतले सस्तियो भान्सा




काठमाडौं । विनासकारी भूकम्पको त्रास र भारतीय नाकाबन्दीको निर्मम प्रहारको एक बर्षपछि नेपालीको भान्सा करिब ८ प्रतिशतले सस्तिएको छ । भान्सामा प्रयोग हुने दाल तथा गेडागुडी, घ्यू तथा तेल र तरकारीको मूल्य सस्तिएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत बर्षको चैत महिनाको भन्दा यो बर्षको चैतमा दाल तथा गेडागुडीको मूल्य १० प्रतिशतले घटेको छ । गत बर्षकोे चैतमा दाल तथा गेडागुडीको मूल्य २६.८ प्रतिशतले बढेको थियो ।

‘गत बर्ष झै यो बर्ष सीमा अबरोध थिएन, मनसुन राम्रो भएको कारण कृषि उत्पादन बढ्यो, यी प्रमुख दुई कारणले दाल तथा तरकारी र खाद्यान्नको मूल्यमा कमी आएको देखिन्छ,’ थापाले क्लिकमाण्डूसँग भने ।

यस्तै घ्यू तथा तेलको मूल्य ३ प्रतिशतले घटेको छ । गत बर्षको चैतमा घ्यू तथा तेलको मूल्य १५.५ प्रतिशतले बढेको थियो ।

यस्तै तरकारीको मूल्य पनि गत बर्षको चैतको भन्दा उल्लेख्य रुपमा घटेको छ । अघिल्लो बर्षको तुलनामा गत चैतमा तरकारीको मूल्य ९.७ प्रतिशतले घटेको हो । अघिल्लो बर्षको चैतमा तरकारीको मूल्य ९.२ प्रतिशतले नै बढेको थियो ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक २०७२ साल चैतसँग तुलना गरिएको हो । २०७२ साल बैशाखमा विनासकारी भूकम्पको कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो भने सोही बर्षको असोजदेखि भारतीय नाकाबन्दी सुरु भएको थियो । सो नाकाबन्दी सोही बर्षको फागुनदेखि हटेपछि आपूर्ति प्रणालीमा केही सहजता आएको थियो ।

यो बर्ष विशेष २ कारणले गर्दा मूल्य नियन्त्रणमा आएको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा बताउछन् । आपूर्ति प्रणालीमा आएको सुधार र मनसुन राम्रो भएको कारण कृषि उत्पादन बढ्दा मूल्य नियन्त्रण भएको उनको भनाइ छ ।

‘गत बर्ष झै यो बर्ष सीमा अबरोध थिएन, मनसुन राम्रो भएको कारण कृषि उत्पादन बढ्यो, यी प्रमुख दुई कारणले दाल तथा तरकारी र खाद्यान्नको मूल्यमा कमी आएको देखिन्छ,’ थापाले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु