मत गणना सहज बनाउन विद्युत प्राधिकरणले विशेष सजगता अपनाउने



काठमाडौँ । स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ ।

दिउँसोको समयमा केही स्थानमा हावाहुरीका कारण समस्या आएको तथा केही स्थानमा प्रसारण लाइन ट्रिप भएको गुनासो बढेपछि प्राधिकरणले सजकता अपनाएको हो ।

धादिङ, चितवन, नुवाकोटलगायत जिल्लामा हावाहुरीले विद्युत् आपूर्तिमा सामान्य समस्या देखिएको बताइएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले समस्या आएको खण्डमा वैकल्पिक उपाय अपनाएर भए पनि विद्युत् आपूर्ति नियमित गराउन आफूहरु दिनरात लागिपरेको बताए ।

‘राष्ट्रिय महत्वको स्थानीय तहको निर्वाचनको मतगणना प्रभावित नहोस् भनेर हामीले विशेष ध्यान दिएका छौँ,’ प्रवक्ता अधिकारीले भने। कुनै पनि समस्या आए तत्काल प्राधिकरणको स्थानीय वितरण केन्द्रमा सम्पर्क गर्न उनले आग्रह गरे।

प्राधिकरणले मतगणना भइरहेका ३४ जिल्लामध्ये केन्द्रीय प्रसारण लाइन पुगेका जिल्लामा चौबीसै घन्टा विशेष टोली परिचालन गरिएको जनाएको छ ।


क्लिकमान्डु