कुन बाणिज्य बैंकको सेयर किन्नु उत्तम छ ? आधार यो मात्रै हो




काठमाडौं । तपाईंले कहिल्यै २ सय रुपैंयाँमा १ किलो स्याउ किनिसकेपछि अलि परको पसलमा १८० रुपैंयाँमै त्यही गुणस्तरको स्याउ बिक्री भइरहेको पाउनुभएको छ ? त्यसो हुँदा तपाईंलाई पक्कै पनि निकै खिन्न महसुस हुन्छ होला ।

सेयर बजारमा पनि बिल्कुल यस्तै अवस्थाहरु आइपर्छन् ।

तपाईंले कुनै कम्पनी प्रतिसेयर ५ सय रुपैंयाँमा किनेको भोलिपल्ट तपाईंले किनेको भन्दा राम्रो आम्दानी गर्ने क्षमता भएको कम्पनी प्रतिकित्ता ४ सय रुपैंयाँमै कारोबार भैरहेको पाउनुहुनेछ ।

यस्तो बेलामा कसरी छान्ने त सेयर ? यस असजिलो अवस्थालाई सहज बनाइदिन सक्छ ‘मुल्य आम्दानी अनुपात’ (पिइ रेसियो) सूचकले ।

मुल्य आम्दानी अनुपात सेयर छान्नका लागि अत्याधिक प्रयोग हुने महत्वपूर्ण सूचक हो । सेयरको बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि मुल्य आम्दानी अनुपात सूचक पत्ता लाग्छ ।

मुल्य आम्दानी अनुपातले कम्पनीले भावी दिनमा राम्रो नाफा कमाउने क्षमताको उद्घाटन गर्दछ । कम मुल्य आम्दानी अनुपात भएको सेयरलाई राम्रो अवसरको रुपमा लिइन्छ भने मुल्य आम्दानी अनुपात बढी भएको सेयर जोखिम पूर्ण हुन्छ ।

मुल्य आम्दानी बढी भएको सेयरलाई ‘ओभर प्राइस्ड’ वा ‘ओभर भ्याल्युड’ मानिन्छ । यसको मतलब कम्पनीको आम्दानी वा आम्दानी गर्ने क्षमता भन्दा बढी मुल्यमा कम्पनीको सेयर कारोबार भैरहेको छ भन्ने हो ।

उदाहरणको लागि नेपालको सेयर बजारमा सूचिकृत २८ बाणिज्य बैंक मुल्य आम्दानी अनुपात सबैभन्दा बढी एनसीसी बैंकको देखिएको छ । एनसीसीको मुल्य आम्दानी अनुपात ९५.१७ गुणा छ । ४ वटा बिकास बैंकसँग मर्ज भएको एनसीसी अहिले त्यसको ब्यवस्थापनमा रुमलिएको छ । अझ कतिपय बिकास बैंकको खराब कर्जा अत्याधिक भएका कारण एनसीसीले झण्डै १ अर्ब रुपैंयाँ प्रोभिजनमा राखेको छ । त्यसैले एनसीसीको अत्याधीक मुल्य आम्दानी अनुपातले तत्काल एनसीसीको सेयरमा केही जोखिम भएको संकेत गर्छ । यद्यपि भावी दिनमा बैंकले प्रोभिजनमा रहेको सबै रकम नाफामा बदल्न सके मुल्य आम्दानी अनुपात घट्नेछ । र, लगानीको जाखिम कम देखिनेछ ।

यसैगरी नेपाल बैंक र ग्लोबल आइमएइ बैंकको मूल्य आम्दानी रेसियो सबैभन्दा कम छ । यसको मतलब यी बैंकले गरेका खुद नाफाको तुलनामा यिनीहरुको मुल्य कम छ । त्यसको मतलब अवसर तुलनात्मक रुपमा धेरै छ भन्ने हो ।

सामान्यतः २० भन्दा कम मुल्य आम्दानी अनुपात भएका कम्पनी आकर्षक, २० देखि ३० सम्म मध्यम र ३० भन्दा बढिलाई जोखिमपूर्ण कम्पनीको रुपमा हेरिन्छ ।

यद्यपि मुल्य आम्दानी अनुपात सेयर छान्ने अन्य धेरै सूचकहरु मध्ये एउटा सूचक मात्र हो । यही सूचकका आधारमा मात्र लगानीको रणनीति नबनाई अन्य धेरै कुराहरुको पनि ख्याल गर्नु नै परिपक्व तरिका हो ।

 


क्लिकमान्डु