काठमाडौंको मतगणना सुरू, कसले माग्यो ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’ ?




काठमाडौं । मतदान भएको १९ घण्टापछि सुरु भएको काठमाडौं महानगरको मतपेटिकामा अनौठो कागज फेला परेको छ । सर्बदलीय सहमति पछि सोमबार १२ बजेपछि मात्रै सुरु हुन लागेको मतगणनामा ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’ लेखिएको कागजात फेला परेको हो ।

‘मतगणनाको लागि मतपेटिकाबाट मत संकलन गर्ने क्रममा राइट टू रिजेक्ट र राइट टू रिकल लेखिएको एउटा कागजात फेला परेको हो, अब मतगणना सुरु भएको छ,’ मतगणनास्थल राष्ट्रिय सभागृहमा रहेका क्लिकमाण्डूका प्रतिनिधि हरि गजुरेलले जानकारी दिए ।

मत पेटिकाबाट मत खन्याउने क्रममा आयोगका कर्मचारीले सो कागजात फेला पारेका थिए । यस्तो कागज भेटिने वित्तीकै आयोग कर्मचारीले सो कागज खल्तीमा राखेका थिए । तर त्यहाँ उपस्थित सबै राजनीतिक दलका प्रतिनिधिले कागज देखाउँनै पर्ने अडान राखेपछि कर्मचारीले सो कागज देखाएका थिए ।

सर्बाेच्च अदालतले करिब २ बर्ष अगाडि नै राइट टु रिजेक्टको ब्यवस्था गर्न निर्देशन दिइसकेको थियो । तर अदालतले यस्तो निर्देशन दिएको भएपनि निर्वाचन आयोगले अझै यस्तो ब्यवस्था कार्यान्वयमा ल्याएको छैन ।


क्लिकमान्डु