नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने



पाँचथर। आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो ।

भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३/७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिए। यस वर्ष भ्यू टावर निर्माणका लागि रु १४ लाखसमेत विनियोजन भइसकेको उनले बताए।

भ्यू टावर निर्माण हुनेभएपछि स्थानीयवासीले ६ रोपनी जग्गासमेत रजिस्ट्रेसन पास गरिदिइसकेका छन् । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पाँचथरका विभिन्न स्थान, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भारत र चीनका सिमानासमेत दृश्यावलोकन गर्न सकिने स्थानीयवासी सुकपाल तुम्वापोले बताए ।

यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वका विभिन्न ठाउँबाट तथा बाह्य पर्यटकसमेत आउने अर्का स्थानीयवासी सन्तोष श्रेष्ठले बताए।


क्लिकमान्डु