महासमस्याबाट अब मुक्त होला त काठमाडौं महानगरपालिका ?




काठमाडौं । देशको पहिलो महानगरपालिका काठमाडौंबासीको दैनिकी समस्यासँँगै सुरु भएर समस्यासँगै अन्त्य हुन्छ । महानगरपालिकामा धेरै समस्याहरु छन् । खानेपानी, ढल, धुलो–धुवाँ, पार्किङ, ट्राफिक जामलगायतका समस्यासँग महानगरपालिकाका जनता दैनिक साक्षात्कार छन् ।

२० वर्ष पछि हुन लागेको स्थानीयतहको निर्वाचनसँगै महानगरबासीको मुहारमा खुसी छाउन थालेको छ । जननिर्वाचित स्थानीय समस्या बुझेको प्रतिनिधि आउने भएपछि महानगरबासीको मुहारमा खुसीका रेखाहरु देखिन थालेका हुन् ।

आगामी बैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचान हुँदैछ । यो चरणमा काठमाडौं उपत्यकासहित तीनवटा प्रदेशमा जनप्रतिनिधि चुनिदै छन् ।

महानगरपालिका महासमस्यामा छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानीको समस्यामा समाधान हुने अपेक्षा गरिएको छ । धुलोमाण्डूको समस्या मेलम्ची खानेपानीको आन्तरिक पाइप सञ्जाल विस्तारका क्रममा उठेको समस्या हो । यो समस्या खानेपानीको समस्या हल भएसँगै हल हुनेछ ।

अर्को समस्या हो ट्राफिक जामको । यो समस्या महानगरमा ठूला सार्वजनिक यातायातको तुलनामा साना यातायातको संख्या अधिक भएकाले सिर्जना भएको हो । सरकारले २० वर्ष पूराना गाडी हटाउने निर्णय गरिसकेकोले छिट्टै नै यो समस्याबाट राहत पुग्ने विश्वास लिइएको छ ।

महानगरका महासमस्याहरुमा पार्किङको समस्या निकै जटिल छ । यो समस्या साधान गर्न महानगरले तीन स्थानमा ब्यवस्थित पार्किङ स्थल निर्माण गर्ने निर्णय गरेको छ । जसमध्ये दुई स्थान काठमाडौंको मुटु जस्तै मानिने खुल्लामञ्च र लैनचौरमा ब्यवस्थित अन्डरग्राउण्ड पार्किङ निर्माणका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन तयार भइसकेको छ ।

तेस्रो स्थान महानगरको पूराना कार्यालय रहेको न्युरोडको धर्मपथमा स्वचालित पार्किङ स्थल बनाउन लागिएको हो । यसका लागि महानगरले कन्सल्टेन्टको सहयोगमा प्रारम्भिक अध्ययन प्रतिवेदन तयार गरिरहेको महानगरपालिकाका योजना अधिकृत रमेश घिमिरे बताउँछन् ।

‘खुल्लामञ्च र लैनचौरमा अन्डरग्राउण्ड पार्किङ निर्माणका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन तयार भइसकेको छ, जनप्रतिनिधि नभएका कारण फाइल स्थानीय विकास मन्त्रालयमा अड्किएको छ, स्थानीय तहका प्रतिनिधि निर्वाचित भएर आएपछि निर्माणको कार्यले गति लिनेछ,’ घिमिरेको विश्वास छ ।

यस्तो बन्छ खुल्लामञ्चमा पार्किङ
खुल्लामञ्च काठमाडौं महानगरपालिकाको मुटुमा छ । खुल्लामञ्चमा पार्किङस्थल बनेमा देशकै व्यापारिक केन्द्र न्युरोडका साथै सरकारी कार्यालय, निजी कार्यालय, कलेज, स्कुललगायत अन्य कार्यालय भएको बागबजारमा हुने अव्यवस्थित पार्किङ व्यवस्थित गर्नका लागि सहज हुनेछ ।

प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार ३ अर्ब ५३ करोड रुपैयाँको लागतमा सार्वजनिक–निजी–साझेदारी (पिपिपी) मोडेलमा निर्माण गरिनेछ । खुल्लामञ्चको ४१ रोपनी जमिनमा सुविधासम्पन्न पार्किङसहितको ३ तल्ले सव–वे निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

सो स्थानमा बजार, कफिसप र पसलसहितको बेसमेन्ट पार्किङ तथा सब–वे बनाउन सकिने प्रारम्भिक अध्ययनमा उल्लेख छ ।

पार्किङ स्थलमा ९ हजार १ सय ९२ स्क्वायर मिटर व्यापारिक केन्द्र स्थापनाको लागि ठाउको ब्यवस्था गरिनेछ । त्यस्तै ७ सय ९८ चारपाङ्ग्रे गाडी र १५ सय मोटरसाइकल पार्किङ गर्न सकिने पार्किङस्थल खुल्लामञ्चको अन्डरग्राउण्ड पार्किङमा हुनेछ ।

लैनचौरको पनि अन्डरग्राउण्ड नै
लैनचौर देशको पर्यटकीय नगर ठमेल क्षेत्र, दुतावास क्षेत्र, व्यापारिक क्षेत्र, स्कुल, कलेजलगातका कार्यालयहरु छन् । उक्त स्थानमा व्यवस्थित पार्किङ स्थल नभएका कारण सवारी साधनहरु जथाभावी पार्किङ गरिदै आएको छ ।

प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार १ अर्ब ३० करोड रुपैयाँको लागतमा सार्वजनिक–निजी–साझेदारी (पिपिपी) मोडेलमा निर्माण गरिनेछ । लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को छेवैमा रहेको जमिनमा ४ हजार ८ सय १६ स्क्वायर मिटरको पार्कसहितको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न लागिएको हो ।

संरचनाको माथिल्लो भागमा १ सय ४५ वटा कार र २५ वटा मोटरसाइकल पार्किङ गर्न मिल्छ भने तल्लो भागमा १ सय ६० वटा कार पार्किङ गर्न सकिन्छ ।
जमिन मुनिको भागलाई पार्किङ र माथिल्लो भागलाई स्थानीयको चाहना अनुरुप खेल मैदान, बस्ने ठाउँ, जगिङ स्पटसहित बगैंचा हुनेछ ।

दुई तल्ले अन्डरग्राउण्ड पार्किङमा पसल, रेस्टुरेण्ट, डिस्प्ले युनिट, स्टोर रुम, ग्रार्ड रुम, शौचालय, लिफ्ट र भर्याङलगायत भौतिक संरचना निर्माण गरिने छ । जसमा ५० वटा पसल, एउटा रेष्टुरेण्ट र ५ वटा डिस्प्ले युनिट रहने छन् ।


क्लिकमान्डु