यस्तो पनि देखियो चुनाब प्रचार शैली…




काठमाडौं । २०७४ बैशाख २७ गते । बिहानको करिब ८ बजे तिर । कोटेश्वरको नरेफाँट । गाडीमा राखिएको लाउडस्पीकरको ठूलो आवाज कोठाभित्रसम्म आइपुगेको थियो । चर्को स्वरमा लोक आधुनिक गीत बजेको थियो ।

गीतमात्रै थिएन, एक हूल मान्छेहरु नारा लगाउँदै टोल परिक्रमा गरिरहेका थिए । राप्रपाको नारा लाग्दै थियो । झण्डा राप्रपाकै थियो । उम्मेदवारहरु भेटेसम्मकालाई नमस्कार गर्दै सकेसम्म प्राकृर्तिक जस्तो देखिने हाँसो हासिरहेका थिए ।

२० बर्षपछि हुन लागेको स्थानीय चुनाबले राजधानी काठमाडौं सहित तीन वटा प्रदेश छपक्कै छोपेको छ । चुनाबी चटारोमा दलहरुलाई जनताकाबीचमा आफू कसरी अब्बल देखिने भन्ने प्रतिस्पर्धाले गाँजेको छ ।

बिहान ६ बजेबाट काठमाडौं उपत्यकाको सहरका टोलहरुमा ठूलो आवाज सहित गीत घन्कन्छ । फलाना पार्टी जिन्दाबादको नाराले अलि ढिलोसम्म सुत्नेहरुलाई ब्यूझाइ दिन्छ ।

अघिल्लो बिहान पनि यस्तै भएको थियो । काँग्रेसको झण्डा र नारा लगाउँदै आएको हूल यसैगरी प्रस्तुत भएको थियो । त्यसअघिका दिनमा एमालेको पारा पनि त्यस्तै थियो ।

देशको राजधानी काठमाडौंमा भोट माग्दा उम्मेदवार र पार्टीहरुले आफू राम्रो उम्मेदवार र आफ्नो पार्टी राम्रो भएकोले भोट दिन मतदातालाई अनुनय विनय गरिरहेका थिए, छन् । पार्टीले बनाएको रेलदेखि पानी जहाज र फ्रि वाइफाइसम्मका एकमुष्ठ सपना समेटिएको ससानो बुकलेट मतदालाई बाँडिरहेका छन् ।

सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले प्रचारको फरक शैली अपनाएको छैन । नेपाली ‘काँग्रेस जिन्दाबाद’ बोलको गीत बाहेक ‘राष्ट्रियता, लोकतन्त्र र समाजबाद’ नै काँग्रेसको चुनाब प्रचारको मसला छ ।

प्रजातन्त्र पुनस्थानापछि गरिएको नीतिगत सुधार, गणतन्त्र स्थापनामा साहसिक र सर्बमान्य निर्णय तथा नेतृत्व र अबको विकास हाम्रो दायित्व हो भन्ने मुद्दा काँग्रेसका छन् ।

दोस्रो ठूलो दल एमाले चुनाबी प्रचारमा फरक छ । ‘मै पनि एमाले, सइ पनि एमाले…’ बोलको गीत टोलटोलमा बजिरहेको छ । घोषणापत्रमा समेटिएका पानी जहाज जस्ता सपना एमाले उम्मेदवारहरु भोट माग्न जाँदा त्यति भनिरहेका छैनन् । एमाले उम्मेदवारहरुलाई ‘नाकाबन्दी तोडेको राष्ट्रबादी शक्ति’का उम्मेदवार बन्न पाउनु नै सौभाग्य हो जस्तो लागेको भान हुन्छ ।

सामाजिक संजालहरु फेसबुक र ट्वीटर एमालेको राम्रो प्रचार माध्यम बनेका छन् । एमालेले यसअघि सरकारमा वा बाहिर हुँदा गरेका राम्रा कामहरुलाई क्वीज शैलीमा भिडियो बनाएर सामाजिक संजालहरु मार्फत ब्यापक बनाएको छ ।

एमालेले सामाजिक संजाल मार्फत केही झुटा विषय समेटेर पनि भिडियो बनाएर सार्बजनिक गरेको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिइएको बिषय भिडियोमा छ । तर यो कार्यक्रम घोषणा भएको हो, कार्यान्वयन भएको छैन ।

तेस्रो ठूलो र सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र चुनाब प्रचारमा परम्परागत शैलीमै छ । क्रान्तिकारी गीत उसको चुनाब प्रचारको राम्रो माध्यम बनेको छ । फ्री वाइफाइको नाराले माओवादी केन्द्रको चुनाबी घोषणापत्र चर्चित नबनेको भने होइन । यस्तै छात्राहरुलाई आत्मरक्षाको लागि शारिरिक शिक्षा दिने भन्ने माओवादी केन्द्रको घोषणा पनि त्यत्तिकै रोचक छ ।

यी समान्य चुनाबी तिकडम भए । शहरको मात्रै होइन । गाउँको शैली पनि यस्तै हो । नारा जुलुस र आमसभाहरु । केही ठाउमा कुनै उम्मेदवारले गर्ने मासु भोजमा सितनको रुपमा समाबेश हुने सोमरस पनि चुनाबी प्रचार र प्रभाव तत्वको रुपमा ब्याख्या गरिदै आइएको बिषय हो ।

२०७४ साल बैशाख २४ गते दिउसोतिर एउटा निम्ता आयो । सिन्धुपोल्चोकको एउटा गाउपालिकाको उम्मेदवारको चुनाबी प्रचारशैलीको अबलोकन गर्न जानुपर्ने भनियो ।

निम्ता गर्ने मान्छे हार्नै नसकिने थिए । नत्र म जाँदिन भन्न मजाले सक्थेँ । म जुन संचार संस्थामा आवद्ध थिएँ, त्यसले राजनीतिक समाचार खासै दिदैनथ्यो । निम्ता गर्ने ब्यक्ति पनि यो सीमा नबुझ्ने थिएनन् । प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीले नेतृत्व गरेका ठूला दलका समाचारले समेत स्थान नपाउने संस्थामा काम गर्ने ब्यक्तिलाई किन बोलाइएको होला भन्ने प्रश्न छदैथियो ।

खबर गर्ने ब्यक्तिले प्रष्ट्याउने प्रयास गरे । ‘राष्ट्रिय जनमोर्चाका उम्मेदवार हुन्, सिन्धुपाल्चोकको बलेफी गाउपालिकाका प्रमुखका उम्मेदवार, उनको चुनाब प्रचारको शैली एकदमै पृथक छ, जानै पर्छ सर,’ निम्ता गर्ने ब्यक्तिले यत्ति भनेका थिएँ ।

नभन्दै २५ गते बैशाख २ बजेतिर काठमाडौंबाट सिन्धुपाल्चोक तिर लागियो । साथमा अरु पत्रकार पनि थिए । गाउपालिकाको एउटा उम्मेदवारको चुनाब प्रचारमा हिडेको भन्ने हिनताबोधले होला सबै पत्रकारले खासै विषयको चर्चा गरिरहेका थिएनन् ।

साँझ ६ बजेतिर बलेफी पुगियो । गाडीबाट ओर्लेर हामीहरु खाजा खान लाग्यौं । पौने सात बजे होटलबाट बाहिर निस्कदा देखियो कि अगाडि बीच सडकमा एउटा खाली ब्यानर झुन्ड्याइएको थियो । त्यसको अगाडि केही प्राविधिकहरु प्रोजेक्टर बनाउने ध्याउन्नमा थिए ।

संघीयता र धर्मनिरपेक्षताको बारेमा राष्ट्रिय जनमोर्चाले राखेका अडानको बारेमा त्यहाँ डकुमेन्ट्री देखाइदै रहेछ भन्ने हामीले अनुमान गर्यौं । सात २५ तिर डकुमेन्ट्री देखाउँन थालियो ।

उम्मेदवार तिमलसिना

डकुमेन्ट्रीमा राजनीतिक कुरा केही पनि थिएन । बलेफी गाउपालिकाको प्रत्येक वडा र टोलका समस्या र सम्भावना केके हुन्, केगरी त्यो गाउपालिकालाई समृद्ध र जनतालाई खुशी पार्न सकिन्छ भन्ने बिषय थिए ।

‘हो, म तपाइहरुसँग भोट माग्न आएको हूँ, तर मलाई नै भोट दिनुस् म भन्दिनँ, विकासको मेरो मुद्दा र र विषय मन पर्यो भने चै मलाई पक्कै भोट दिनुस्, यो गाउको विकास मैले मात्रै गर्ने होइन, तपाइ हामी मिलेर गर्ने हो, यसमा तपाइहरुको साथ मलाई चाहिन्छ, यो काम गर्नुपर्ने हो भन्ने लाग्छ भने मलाई भोट दिनुहोला,’ बलेफी गाउपालिकाको प्रमुखका उम्मेदवार बालकृष्ण तिमलसिनाले यस्तो भन्दै गरेकोबाट डकुमेन्ट्री सुरु भयो ।

करिब ४५ मिनेटको डकुमेन्ट्री थियो । गाउपालिकाको अधिकांश वडा घुमेर बनाइएको थियो । कृषि, उद्योग, ब्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता जनजिबीकाको विषय डकुमेन्ट्रीमा उठाइएको थियो । तर कुनै पनि दललाई गाली गरिएको थिएन । डकुमेन्ट्रीमा राष्ट्रिय जनमोर्चा देशको सबैभन्दा राम्रो राजनीतिक दल पनि भनिएको थिएन ।

करिब ४५ मिनेटको डकुमेन्ट्री सकियो । ‘यो के हो, किन यस्तो गरेको ?’ हामीले तिमलसिनासँग सोध्यौं ।

‘हामी ठूला ठूला आमसभाहरु गर्दैनौं, पोस्टर टास्दैनौं, पम्प्लेट छर्दैनौं, अर्काे पार्टीलाई गाली गर्दैनौं, स्थानीय निर्वाचन हो, स्थानीय मुद्दा उठाउछौं, गाउ विकासको अबधारणा देखाउँछौं, सहमत हुनेले भोट दिन्छन्,’ उनले जवाफ दिए ।

चुनाब प्रचारको फरक शैली देखेर हामी दंग पर्यौं । यसरी प्रचार गरेपनि हुने रहेछ भन्ने लाग्यो । ‘किन यस्तो गर्नुभएको ?’ हामीले फेरि पनि सोध्यौं ।

‘चुनाब धेरै महंगो हुन लाग्यो, चुनाबमा उम्मेदवार बन्नको लागि पैसा हुनु पहिलो शर्त जस्तै बन्यो, गाउको बिकास गर्न सक्ने तर पैसा नभएको ब्यक्ति उम्मेदवार बन्नै अयोग्य हुन थाल्यो, पैसा खर्च गरेर चुनाब जित्नेले आफ्नो लगानी फिर्ता गर्छ नै, यही कारण विकास कम भयो, भ्रष्टाचार बढ्यो, यसलाई कसै न कसैले तोड्नै पथ्र्याे, मैले सुरु गरेको मात्रै हो,’ तिमलसिनाले प्रष्ट्याए ।

हो, चुनावको प्रचार यसरी पनि गर्न सकिन्छ भन्ने होइन । गर्नुपर्ने नै यसैगरी हो । राष्ट्रिय जनमोर्चा जस्तो सानो पार्टीको, सिन्धुपाल्चोकको एउटा गाउपालिका प्रमुखको उम्मेदवारले सुरु गरेको बिषय राष्ट्रिय बहसको बिषय नबन्न सक्छ । काठमाडौंका तर्कशास्त्रीहरुलाई यो बिषय ज्यादै झिनोमसिनो लाग्न सक्छ । जे होस् यत्ति भन्न सकिन्छ कि पैसा नभए पनि भिजन भएको ब्यक्ति चुनिन सक्ने चुनाबी तरिका अबलम्बन गर्ने हो भने तिमलसिनाको जस्तै रचनात्मक प्रचार शैली भने आवश्यक छ ।


क्लिकमान्डु