तनहुँ जलविद्युत् प्रभावितलाई मुआब्जा वितरण



दमौली। तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने १४४ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई ३२ करोड ९५ लाख चारहजार ८७१ रुपैयाँ मुआब्जा  वितरण गरिएको छ । १७० जना प्रभावितलाई सो रकम मुआब्जा वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम भइरहेको बताए । जग्गाको अवस्था हेरेर प्रतिरोपनी दुई लाखदेखि आठ लाख रुपैयाँसम्म मुआब्जा दिइएको जानकारी उनले दिए।

आयोजनाको बाँधस्थल साबिक काहुँ शिवपुर, जामुने, कोटदरबार, रिसिङ, रानीपोखरी, भिमादलगायत गाविसका बासिन्दालाई मुआब्जा उपलब्ध गराइएको बताइएको छ ।

त्यस क्षेत्रका बासिन्दाका लागि ६५ करोड ७० लाख रुपैयाँ मुआब्जा वितरण गरिने प्रजिअ फणिन्द्रमणि पोख्रेलले बताए । आयोजनाले एक हजार २५० रोपनी जग्गाका धनीलाई मुआब्जा रकम वितरण गर्ने जनाएको छ ।

आयोजनाले ४ वर्षअघि झापुटारका प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिआना एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म मुआब्जा दिएको थियो । त्यतिबेला आयोजनाले १३८ रोपनी जग्गा प्राप्त गर्दा ४२ करोड रुपैयाँ मुआब्जा वितरण गरेको जनाएको छ ।


क्लिकमान्डु