बाह्र सिँचाइ योजना सञ्चालनमा, चार हजार ३७६ हेक्टर जग्गामा सिँचाइ सुविधा



भद्रपुर। झापामा हाल सिँचाइका लागि करिब ५५ करोड रुपैयाँ लागतका १२ योजना सञ्चालनमा रहेका छन् ।

सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले कृषकको आवश्यकता र स्रोतको सदुपयोग हुने गरी सिँचाइको विकास र विस्तार गर्न लागेको हो ।

जिल्लामा १२ योजनाबाट करिब चार हजार ३७६ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले बताए । गौरादहको किस्ने खोलामा ११ करोड २३ लाख रुपैयाँ लागतमा निर्माण सुरु भएको सिँचाइ योजना सम्पन्न हुने अवस्थामा छ । यसबाट छ सय ३० हेक्टरमा सिँचाइ सुविधा पुग्ने तिवारीले बताए ।

यस्तै गोलधापको भुतेनी खोलामा सात करोड ६९ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको योजना अन्तिम अवस्थामा पुगेको छ । सो योजनाबाट छ सय ३० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । दुवागढीस्थित हडिया खोलामा पाँच करोड २२ लाख रुपैयाँ लागतमा निर्माण हुने योजनाबाट ५०० बिगाहा खेतमा सिँचाइ सुविधा पुग्नेछ ।

यसैगरी हडियामा दामा र त्रिवेणी सिँचाइ योजनाको निर्माण कार्य सुरु गरिएको छ । यी दुबै योजनाबाट चार सय ३० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने कार्यालयले जनाएको छ । राजगढको फौजदार घाटमा छ सय ३० हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १० करोड ६९ लाख रुपैयाँ लागतमा निर्माण सुरु भएको योजना आउदो आवमा सम्पन्न हुने छ ।

यस्तै साँधुटारमा सञ्चालित साधुटार, नेते र सिस्ने (सानेसी) सिँचाइ योजनाले त्यस क्षेत्रमा तीन सय ५५ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नेछ । सो योजना एक करोड ३९ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ ।


क्लिकमान्डु