स्ट्यार्न्डड चार्टर्डले कमायो एक अर्ब, प्रतिशेयर आम्दानी घट्यो




काठमाडौं ।स्ट्यार्न्डड चार्टड बैंक पनि तेस्रो त्रैमासमै अर्बपति क्लबमा प्रवेश गरेको छ । मंगलबार चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत बित्तीय बिवरण प्रकाशित गरेको बैंकले गत बर्ष सोहि अबधिको भन्दा १७.३७ प्रतिशतले खुद नाफा बढाएको छ ।

यस बर्ष १.०६ अर्ब खुद नाफा कमाएको बैंकले गत बर्ष ९० करोड ६७ लाख रुपैंयाँ कमाएको थियो ।

बैंकले हालसम्म ६९ अर्ब ५६ करोड रुपैंयाँ निक्षेप संकलन गरेका छ, भने ३७ अर्ब ३५ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । गत बर्ष सोहि अबधिसम्म बैंकको निक्षेप ५८ अर्ब १२ करोड र कर्जा २९ अर्ब ३३ करोड रुपैंयाँ थियो ।

बैंकले संचालन नाफा २२.३५ प्रतिशत र ब्याज आम्दानी १८.९९ प्रतिशतले बढाएको छ ।

नाफा केही बढाएपनि पूँजी बढेअनुसार नाफा बढाउन नसकेका कारण बैंकको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । अघिल्लो बर्ष ५३.७८ रुपैंयाँ प्रति सेयर आम्दानी भएको बैंक अहिले ३७.८४ रुपैंयाँ प्रति सेयर आम्दानीमा खुम्चिएको छ । बैंकले चुक्ता पूँजी गत बर्षको २ अर्ब २४ करोड रुपैंयाँबाट बढाएर ३ अर्ब ७४ करोड रुपैंयाँ पुर्याएको छ ।

बैंकको मुल्य आम्दानी अनुपात ६२.१० गुणा छ ।

हाल बैंकको जगेडाकोषमा ४ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ । एफपिओ पश्चात जगेडाकोषमा ३ अर्ब रुपैंयाँ थपिनेछ । बैंकले जगेडाकोष र चालु आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिइ राष्ट्र बैंकले तोकेबमोजिमको ८ अर्ब रुपैंयाँ चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ ।


क्लिकमान्डु