निर्माण सुरु भएको २८ महिनामा जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु



इलाम। इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ ।

७.६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ ।

सानभी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजना निर्माण सुरु भएको २८ महिनामै सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको सञ्चालक पाल्देन काजी लाप्चाले जानकारी दिए।

एक अर्ब ५७ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको आयोजना २०७१ मङ्सिर ५ गतेदेखि निर्माण सुरु गरिएको थियो । वार्षिक चार करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् पावर हाउसबाट इलामको गोदकस्थित कावेली कोरिडोरको सवस्टेसनमा साढे १० किलोमिटर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

लक्ष्मी बैंक लगानीकर्ता रहेको आयोजनामा अन्य बैंक कैलाश बैंक, प्रभु बैंक र भिवोर बैंकले लगानी गरेका छन् ।

आयोजनामा जापानको तोसिवा कम्पनीका सामान प्रयोग गरिएको सञ्चालक लाप्चाले जानकारी दिए । नेपालमै साना जलविद्युत् आयोजनामा पहिलो पटक तोसिवाको सामग्री प्रयोग भएको हो ।

पावर हाउसमा चारसय किलोवाट क्षमताका दुईवटा फ्रान्सिस टर्वाइन जडान गरिएका छन् । आयोजनाका मुख्य संरचना एक हजार पाँचसय मिटरको सुरुङ, हेडवक्र्स, हेडरेस पाइप, सर्च टेंक, पेनस्टक, पावर हाउस र ट्रान्समिसन लाइन सबै निर्माण भएको छ ।

आयोजनाले फिक्कलदेखि पावरहाउससम्म साढे दश किलोमिटर सडक निर्माण पनि सम्पन्न गरेको छ । सडक निर्माणपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । रासस


क्लिकमान्डु