भरतपुरलाई उद्योग व्यवसायमैत्री बनाउने प्रतिबद्धता



चितवन। भरतपुर महानगरपालिकालाई उद्योग व्यवसायमैत्री बनाउने भरतपुर महानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवनले आज यहाँ आयोजना गरेको ‘भरतपुर महानगरपालिकाको आर्थिक र सामाजिक विकासबारे उम्मेदवारको धारणा’ विषयक कार्यक्रममा बोल्दै उनीहरुले महानगरपालिकामा रोजगारी सिर्जना गर्न र समृद्ध महानगर बनाउनका लागि उद्योग व्यवसायको विकास आवश्यक रहेको बताए ।

नेकपा (एमाले)का तर्फबाट महानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार रहनुभएका देवीप्रसाद ज्ञवालीले महानगरको आर्थिक विकासका लागि नारायणी नदीको पानीको सही सदुपयोग गर्नुपर्ने बताए। उनले नारायणी नदीबाट महानगरपालिका र महानगरवासीको लगानीमा १२५ मेगावाट विद्युत् उत्पादन गरिने बताए ।

नारायणी नदीमा तटबन्ध र नवलपुर क्षेत्र जोड्ने गरी तीन ठाउँमा पुल निर्माण गर्ने तथा नारायणगढ बजारलाई व्यापारमैत्री बनाउन ट्राफिक व्यवस्थापनका लागि पुल्चोक, सहिद चोक, लायन्स चोकलगायतका व्यस्त चोकमा आकासे पुल निर्माण गर्ने ज्ञवालीले प्रतिबद्धता जनाए । नारायणगढ बजारमा महानगर र निजी क्षेत्रको सहकार्यमा पार्किङस्थल निर्माण गर्नुपर्ने बताउँदै ज्ञवालीले व्यावसायिक कर सङ्कलनमा पनि उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्नुपर्ने बताए।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख पदका उम्मेदवार रेणु दाहालले महानगरलाई स्वच्छ र हराभरा बनाउनका लागि स्थायी ल्यान्डफिल्डको आवश्यकता रहेको बताए। महानगरको सौन्दर्यता बढाउन र आर्थिक रुपमा महानगरको विकासका लागि स्थायी रुपमा उद्योग सञ्चालनमा आउने वातावरण तयार गर्न आफूले सक्दो प्रयास गर्ने उनले बताए ।

“भरतपुरमा विकासको प्रचुर सम्भावना छ, चितवनलाई वैकल्पिक राजधानीका रुपमा विकास गर्न सकिन्छ,” दाहालले भने । उनले देशकै सबैभन्दा नमुना महानगर बनाउने समेत प्रतिबद्धता व्यक्त गरे। नारायणगढ बजारको ट्राफिक व्यवस्थापनका लागि आवश्यक ठाउँमा बाइपास निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उद्योग व्यवसायमैत्री वातावरण सिर्जना गर्न आफूले सक्दो पहल गर्ने दाहालको भनाइ थियो ।

“भूमिको उपयोगिताअनुसार वर्गीकरण गरी प्रयोग गरिने छ,” उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार बन्नुभएका बद्री तिमिल्सिनाले महानगरमा चक्रपथ निर्माण गर्न पहल गर्ने बताए । तिमिल्सिनाले विगतमा पनि आफूले उद्योग व्यवसायीका समस्या समाधानका लागि काम गर्दै आएको स्मरण गराए ।

कार्यक्रममा जनमोर्चाका उम्मेदवार भक्तिराम गौतम, नयाँ शक्ति नेपालका सूर्यप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका तर्फबाट नगरउपप्रमखका उम्मेदवार पार्वती शाह ठकुरी, एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार दिव्य शर्मा आचार्य, राप्रपाका रिना गुरुङ, जनमोर्चाका उमादेवी शर्मा, नयाँ शक्ति नेपालका शारदा घिमिरेले महानगरलाई समृद्ध बनाउन र उद्योगमैत्री बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उद्योग वाणिज्य सङ्घ, चितवनका अध्यक्ष राजन गौतमले नारायणी नदीको पुल जीर्ण हुँदै गएकाले वैकल्पिक पुल र सवारी चाप बढी भएको स्थानमा आकासे पुलको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले नगरका विभिन्न भागमा सडक बत्तीको व्यवस्था, महानगरभित्र सुविधाजनक सभागृह, क्षेत्रीय रङ्गशाला र नारायणगढको क्याम्पाचौरमा मिनी स्टेडियम निर्माण गर्नुपर्ने बताए।


क्लिकमान्डु