नेपाल औषधी पुनःसंचालन गर्दै मन्त्री जोशीले भने- एन्टी भेनम अब नेपालमै उत्पादन हुन्छ




काठमाडौं । उद्योग मन्त्री नविन्द्र्रराज जोशीले अब नेपालमा एन्टी भेनम (विष प्रतिरोधात्मक औषधी) हुने बताएका छन् । मन्त्री जोशीले २०७६ बैशाख १ गतेभित्रमा नेपाल औषधीले एन्टी भेनम उत्पादन गर्ने बताएका हुन् ।

विगत ८ वर्षदेखि बन्द रहेको नेपाल औषधीले पुन औषधी उत्पादन गर्न लागेको अबसरमा आयोजित विशेष कार्यक्रममा मन्त्री जोशीले यस्तो जानकारी दिएका हुन् ।

‘मानिसको जीवनभन्दा ठूलो चिज यो संसारमा छैन, एन्टी भेनम बनाउन महँगो पर्छ, तर, मानिसको जीवनभन्दा महँगो हुन सक्दैन, अब नेपालमै बन्छ, र, सरकारी कम्पनी नेपाल औषधीले नै उत्पादन गर्छ,’ उनले भने ।

‘एन्टी भेनम अभावको कारण तराईभेगका बर्सेनि सयौंको संख्यामा जनताले अकालमा ज्यान गुमाउने गरेका छन्, एन्टी भेनम नेपालमा उत्पादन गर्न सकिए अकालमा ज्यान जानबाट रोक्न सकिने छ,’ मन्त्रीले भने ।

एन्टी भेनम विशेष गरेर सर्पले टोकेको बिरामीलाई अकाल मृत्यूबाट जोगाउन प्रयोग गरिने औषधी हो ।

नेपाल औषधी लिमिटेड पुनसंचालनमा
नेपाल औषधी लिमिटेडले आजबाट पुनः औषधी उत्पादन सुरु गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी विगत ८ वर्षदेखि बन्द थियो ।

औषधी उत्पादनको लागि विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले तय गरेको कुशल निर्माण विधि (जिएमपी) मापदण्ड अनुरुपको औधषी उत्पादन गर्न नसकेका कारण २०६६ सालदेखि कम्पनी पूर्ण रुपमा बन्द थियो । सरकारले (जिएमपी) मापदण्ड अनुरुप औषधी उत्पादन गर्नका लागि ६ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । पुनसंचालनका लागि सरकारबाट सहयोग पाएसँगै कम्पनीले आजबाट जीवनजल उत्पादन सुरु गरेको छ ।

उद्योग मन्त्री जोशीले जनताले सहज र सरल रुपमा औषधीको प्रयोग गर्न सकुन भनेर सरकारले पुन उद्योग संचालनमा ल्याएको बताए ।

‘जनताले सर्वसुलभ रुपमा औषधी प्रयोग गर्न पाउन् भनेर पुन उद्योग संचालन गरिएको हो, नेपाल औषधी संचालनमा आएपछि सस्तो मुल्यमा गुणस्तिरीय औषधी उपलब्ध गराउन सहज हुनेछ,’ जोशीले भने ।

उद्योग राज्यमन्त्री कञ्चनबादे श्रेष्ठले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नका लागि उद्योग पुन संचाल गरिएको बताए ।

‘सरकारीस्तरबाट औषधी उत्पादन हुन थालेपछि निजी क्षेत्रको एकाधिकार तोडिएको छ, महँगोमा औषधी किन्ने दिन अब सकिएको छ,’ श्रेष्ठले भने ।

आगामी ३ महिना भित्र सिटामोललगायत नन्पेनिसिलिन गु्रपका ट्यावलेटहरु उत्पादन गरी बजारमा पु¥याउने लक्ष्य भएको नेपाल औषधी लिमिटेडका महाप्रबन्धक डा. रोवस कुसुम सुवेदीले बताए ।


क्लिकमान्डु