किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल



धनकुटा। प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ ।

जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । प्रविधिको प्रयोग गर्दै व्यावसायिक खेतीको विस्तारका लागि  ४३ थान एन्ड्रोइड मोबाइल र ४३ थान रेनगेज उपकरण वितरण गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेका २६ र पशु कार्यालय धनकुटाले सिफारिस गरेका १७ अगुवा किसानलाई विभिन्न प्राविधिक सूचना पाउन सहज हुने मोबाइल र मौसम मापनसहित बर्सातको पानी नाप्ने उपकरण सामग्री हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरतप्रसाद विडारीले बताए। किसानलाई निर्वाहमुखी खेतीबाट व्यावासायिक बनाउन ‘मेरो कृषि’ नामक एपमार्फत कृषि प्रविधिसम्बन्धी सूचना उपलब्ध गराउन थालिएको छ ।

विभिन्न समयमा बदलिँदो मौसमबारे अग्रिम जानकारी लिँदै मौसम अनुकूल खेतबारीमा काम गर्न सहज बनाउने भन्दै छ लाख ४५ हजार रुपैयाँ बराबरको रेनगेज उपकरण प्रदान गरिएको छ । जिल्लामा दुई सय सात पशु फार्म र पाँच सय ४४ कृषक समूह रहेको कार्यालयले जनाएको छ ।

कृषिसम्बन्धी सूचना हेर्न सरकारले किसानलाई मासिकरुपमा १५ एमबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने भएको छ । इन्टरनेटसँगै फोनबाट पनि समस्याबारे जानकारी लिएर समधान गरिने योजना रहेको छ । किसानका लागि सिमसहित प्रतिगोटा १८ हजार रुपैयाँ बराबरको सामुसुम जी फाइभ मोबाइल वितरण गरिसकिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक झवीन्द्र मरासिनीले बताए।


क्लिकमान्डु