एलइडी बल्बबाट ४७ अर्ब बचत हुने कुलमानको दाबी




काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले भारतबाट एलइडी बल्ब खरिदले २ सय मेगावाटभन्दा बढी बिद्युत बचत गर्ने दाबी गरेका छन् ।

सो बल्ब खरिदमा कमिसनको खेल भएको आरोप लागेपछि उर्जा मन्त्रालयले आज (आइतबार) आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले यस्तो दाबी गरेका हुन् । साथै यो सम्झौता नेपाल सरकार र भारत सरकारबीच भएकोले कमिसनको कुनै गुन्जायस नभएको उनको भनाइ छ ।

‘नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएर बल्ब खरिद गर्न लागिएको हो, सरकार सरकारबीच हुने सम्झौतामा कमिसन हुन्छ भन्ने कुरा नै गलत हो, बल्ब ल्याएर जडान गरिएपछि पिकिङ आवरमा २०१ मेगावाट बिजुली बचत हुन्छ,’ घिसिङले भने ।

अहिले पिक आवरमा १२५० मेगावाट विद्युतको माग रहेको सो अबसरमा जानकारी दिइयो ।

एलइडी बल्ब जडान भएपछि ठूलो परिमाणको विद्युत बचत हुने प्राधिकरणको दाबी छ ।

‘२ करोड थान एलइडी बल्ब जडान भएपछि २०१ मेगावाट विद्युत बचत हुन्छ, यति परिमाणको विद्युत उत्पादन गर्न ४७ अर्ब रुपैयाँ लाग्छ, बल्ब खरिद गरेर सो बराबरको विद्युत बचत गर्न खोजिएको हो, यसमा कुनै गलत मनसाय छैन, तपाइहरु ढुक्क हुनुभए हुन्छ,’ घिसिङले भने ।


क्लिकमान्डु