वारेन बफेटसँग १ खर्ब डलर नगद छ तर, अाइफाेन छैन



विश्वभरका ठूला लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कसायर हाथवेको वार्षिक बैठकमा जुटेका छन् ।

सेयर बजारमा लगानी गर्नेको लागि वारेन बफेट विश्वमै एक आदर्श हुन् । विश्वका दोस्रो ठूलो धनी वारेन बफेटको कम्पनी वर्कसायर हाथवेले मार्चमा सम्पन्न भएको आफ्नो कम्पनीको पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ ।

कम्पनीको संचालन मुनाफा अघिल्लो वर्षको तुलनामा ३.५ प्रतिशतले घटेर ३.५६ अर्ब अमेरिकी डलर छ । मुनाफा घटेपनि कम्पनीसँग एक सय अर्ब अमेरिकी डलर अर्थात एक खर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । कम्पनीलाई विभिन्न कम्पनीमा गरेको लगानीबाट फाइदा नभएको अनुमान गरिएको छ । तर,कम्पनीसँग एक सय अर्ब अमेरिकी डलर नगद रहेको ब्लुमर्गले जनाएको छ ।

‘ओर्याकल अफ ओमाहा’ नामबाट चर्चित बफेट विश्वमै दोस्रो धनी व्यक्ति हुन् । सयभन्दा बढी कम्पनीका मालिक र विश्वका सेयर बजारका ठूला लगानीकर्ता बफेटका केही तथ्य भने अनौठा छन् ।

पैसा कमाएपछि एप्पल कम्पनीको आइफोन लिनु पैसा कमाउनेको लागि एउटा इच्छा नै हो । तर,एप्पल कम्पनीको सेयरधनी भएपनि बफेटसँग एप्पलको फोन छैन । उनी स्मार्टफोनपनि प्रयोग गर्दैनन् ।

पुराना फोन प्रयोग गर्ने बफेट भन्छन्,‘ म केहीपनि कुरा फाल्ने गर्दिन,कम्तिमा त्यो सामान किनेको २५ वर्षसम्म त्यो सामान मसँग हुन्छ।’
सन् २०१३ मा सीएनएनलाई दिएको अन्तरवार्तामा बफेटले आफ्नो पुरानो नोकिया फोन गर्वका साथ देखाएका थिए ।

कुनै कम्पनीमा लामो समयसम्म लगानी गर्ने उनको मन्त्र हो । ‘ यदी तपाई कुनै कम्पनीको सेयर १० वर्षसम्म राख्नेगरी खरिद गर्नुपर्छ’, उनी भन्छन् ।
उनले इमेलपनि प्रयोग गर्दैनन् । आजसम्म उनले जम्मा एउटा इमेल पठाएका छन् । केहीलाई उनी प्रविधिको विरोधी भएको लाग्न सक्छ तर,उनी आफ्नौ जीवन फरक तरिकाबाट जिउन चाहन्छन् ।

उनी अहिले विश्वको दोस्रो धनी व्यक्ति भएपनि व्यवसायिक जीवनको सुरुवातकै जस्तै जीवनशैलीमा बिताउने गर्छन् ।

सन् २०१४ मा उनीसँग क्याडिलक कार थियो । जुन ८ वर्ष पुरानो थियो । उनले एक अन्तवार्ताको क्रममा एक वर्षमा ३५ सय माइल्स ड्राइव गरेको बताएका थिए । जनरल मोटरका सिइओले बफेटलाई कार परिवर्तन गर्नको लागि मनाएका थिए । त्यसपछि उनीले क्याडिलक २००६ डिटिएसलाई क्याडिलक एक्सटिएस लिएर परिवर्तन गरेका थिए । उनीसँग प्राइभेट जेट विमान भएपनि अत्यावश्यक बेलामा मात्र यसको प्रयोग गर्छन् ।

एक लगानीकर्ताको रुपमा बफेटको विश्वसनियता धेरै छ । उनीले भनेका शब्द लगानीकर्ता ध्यान दिएर सुन्ने गर्छन् । उनी एक वास्तविक जीवन बिताउँछन् र युवालाई सल्लाह दिन्छन्,‘क्रेडिट कार्डबाट प्रयोगबाट पर रहनुहोस्, लगानी गर्नुहोस्।’ ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु