‘साउथ एसिया सेटलाइट’ शुभारम्भ



काठमाडौं । भूउपग्रहका माध्यमबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रलाई जोड्ने उद्देश्यका साथ आजदेखि शुभारम्भ गरिएको छ ।

‘साउथ एसिया सेटलाइट’ नामबाट सुरु गरिएको सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकापसमा बधाई ज्ञापन गरेका थिए ।
भूउपग्रहको शुभारम्भसँग भएको भिडियो कन्फरेन्समा प्रधानमन्त्री दाहालले यसको विकासबाट दक्षिण एसिया अन्तरीक्ष प्रविधिमा आत्मनिर्भर भएको र यसले यस क्षेत्रका मुलुकलाई एकापसमा जोड्ने तथा जनताको जीवनस्तरमा सुधार ल्याउने बताए ।

उनले यसबाट खासगरी सूचना तथा स्वास्थ्य सेवा, दूरशिक्षा, सूचना प्रविधि, मौसम विज्ञान, दैवीप्रकोप व्यवस्थापन र वैज्ञानिक अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले हिमाली र दुर्गम क्षेत्रको सञ्चार प्रणालीको विस्तारमा समेत सघाउ पु¥याउनाका साथै मानव स्रोतको विकासमा समेत नेपाललाई सहयोग पुग्ने हुँदा सो सुविधाबाट अधिकतम लाभ हासिल गर्नुपर्नेमा जोड दिए ।
सन् २०१४ को नोभेम्बरमा काठमाडौँमा सम्पन्न १८ औँ सार्क शिखर सम्मेलनका क्रममा भारतका तर्फबाट प्रधानमन्त्री मोदीले ‘साउथ एसिया सेटलाइट’बारे प्रस्तुत गरेका थिए ।

शुभारम्भका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले यस क्षेत्रका जनतालाई बधाई दिँदै दक्षिण एसियाली क्षेत्रको विकासमा यस कार्यले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको सञ्चारमन्त्री कार्कीले जानकारी दिए । रासस


क्लिकमान्डु