पशु बीमामा आकर्षण, बाली बीमामा भने अनभिज्ञ



रोल्पा। रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ ।

यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका एकहजार तीन बाख्रा,तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक नीमबहादुर सिंहले जानकारी दिए ।

जिल्लाका साबिक सिर्प, उवा र थवाङबाहेक सबै गाविसका किसानले पशु बीमा गरेको बताइएको छ । ‘पशु बीमाप्रति किसानको आकर्षण बढ्दै गएको देखिन्छ,’ सिंहले भने।

विभिन्न प्राकृतिक प्रकोप तथा रोगब्याधीबाट पशु मरेमा बीमाङ्कको ९० प्रतिशतसम्म रकम किसानले पाउने गर्दछन् । हालसम्म जिल्लामा बीमा गरेका ११ पशु मरेको हुँदा त्यसको बीमा रकम किसानले पाइसकेको पशु चिकित्सक सिंहले जानकारी दिए। पशु बीमाको अवधि एक वर्ष हुने बताइएको छ ।

बाली बीमाप्रति भने किसानको आकर्षण देखिएको छैन । किसानको उत्पादनको सुरक्षालाई सुनिश्चितता गर्ने गरी सरकारले बीमा कार्यक्रम लागू गरेको भए पनि जिल्लामा हालसम्म एकजना किसानले पनि बीमा नगरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

‘बाली बीमाको फाइदाबारे किसानलाई जानकारी नहुँदा आकर्षण नभएको हुन सक्छ निकट भविष्यमा नै बाली बीमाबारे सचेतीकरण गर्ने सोच बनाएका छौँ,’ श्रेष्ठले भने ।

जिल्लाका गैरीगाउँ र बुढागाउँका किसानले टमाटरमा र जिनावाङका किसानले स्याउ खेतीमा बीमा गर्न थालेको श्रेष्ठले बताए । ‘धेरैभन्दा धेरै किसानलाई बीमाको पहुँचमा ल्याउने गरी काम गर्छौं,’ श्रेष्ठले भने ।


क्लिकमान्डु