दुई दशकमा पनि चक्रपथको ट्र्याक खुलेन



मोरङ। निर्माण सुरु भएको २० वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र परेको हो।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मोरङका प्रमुख श्यामकिशोर सिंहका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस्तारका क्रममा दिइनुपर्ने मुआब्जामा विवाद र स्रोतसमेत नहुँदा अझै दुई किमी ट्र्याक खोल्न बाँकी रहेको छ।

मुआब्जाको माग गर्दै स्थानीयवासीले काम रोकेपछि झोराहाटखण्डको दुई किमी ट्र्याक खोल्न बाँकी रहेको प्रमुख सिंहले बताए । चक्रपथले २० सुकुम्बासीको घर भेट्ने र ती घरधनीहरुलाई मुआव्जाको रुपमा घडेरी उपलव्ध नगराए उनीहरु बाटोले गर्दा बिस्थापीत हुने  पिडित अखिल बराईलीले बताए।

उनले भने, ‘मुआब्जा नदिएसम्म हाम्रो जमिन अधिग्रहण गर्न दिन्नौँ ।’ निर्माणको यस अवधिमा मुआब्जाको विवादले काममा ढिलाइ भएपनि २० किमीमा भने ग्राभेल भइसकेको छ । चक्रपथका लागि मात्रै दुईसय ११ बिघा जग्गा आवश्यक पर्छ । यो सबै जग्गा निःशुल्करुपमा अधिग्रहणको योजना रहेको छ । चक्रपथले मोरङका कटहरी, झोराहाट, लखन्तरी, टङ्कीसिनबारी, हात्तीमुडा, भाथिगन्जसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडा छुनेछ।

चौँतिस मिटर चौडाइ रहेको चक्रपथको सहायक मार्ग आठ देखि १० मिटरका हुनेछन् । चक्रपथका लागि सिङ्घिया नदीमा भने दुईवटा ठूला पुल बनाउनुपर्ने छ । चक्रपथ निर्माणको ढिलाइले स्थानीय अगुवा भने निराश भएको विजय विश्वास बताउनुहुन्छ । ४२ किमी लम्बाइ रहेको चक्रपथको सम्पूर्ण निर्माण भइसक्दा करिब पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । गत वर्ष चक्रपथका लागि करिब ६ करोड रुपैयाँ बजेट छुट्याइएको थियो।


क्लिकमान्डु