विकास समितिको आडमा एनसेलले पायो फोरजीको अनुमति



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी सेवा सञ्चालन गर्ने अनुमति दिएको हो ।

‘सबै नेपालीलाई इन्टरनेटको पहुँचभित्र ल्याउने सरकारी नीतिअनुसार हामीले एनसेललाई फोरजी सेवा सञ्चालन गर्ने अनुमति दिएका हौं,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले क्लिकमाण्डूसँग भने ।

प्रवक्ता अर्यालका अनुसार एनसेलले २०१७ को जुन १ देखि फोरजी सेवा विस्तार गर्नुपर्ने छ ।

एनसेलले ६ महिनाभन्दा अघि नै फोरजी सञ्चालनको अनुमति माग्दै प्राधिकरणमा आवेदन दिएको थियो ।

एमाले नेता रविन्द्र अधिकारी सभापति रहेको विकास समिति ले लेखा समिति र अर्थ समितिको निर्देशनलाई क्रस गर्दै एनसेललाई फोरजी सेवा सञ्चालन गर्न दिएको निर्देशनलाई शंकको दृष्टिले हेरिएको छ ।

तर, संसदको सार्वजानिक लेखा समिति र अर्थ समितिले एनसेलले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेसम्म फोरजी लगायतका सेवा विस्तार गर्ने सबै प्रस्ताबहरु अस्वीकार गर्न सरकारलाई निर्देशन दिएको थियो ।

दुई वटा संसदीय समितिको निर्देशनअनुसार प्राधिकरणले अहिलेसम्म एनसेललाई फोरजीको अनुमति रोकेको प्रवक्ता अर्यालले जानकारी दिए ।

तर, केही दिनअघि संसदको विकास समितिले एनसेललाई फोरजी सेवा सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सबै जनतामा इन्टरनेटको पहुँज विस्तार गर्ने सरकारी नीति कार्यान्वयन गराउन एनसेललाई फोरजीको अनुमति दिन प्राधिकरणलाई निर्देशन दिइएको विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए । अधिकारी एमाले नेतासमेत हुन् ।

तर, अधिकारी सभापति रहेको विकास समितिको यो निर्णयले दुई संसदीय समिति लेखा समिति र अर्थ समितिको निर्देशलाई क्रस गरेको छ ।

‘राज्यले उठाउनुपर्ने करको विषय भएकाले हामीले एनसेलबाट राज्यलाई तिर्नुपर्ने कर असूल नभएसम्म फोरजी लगायत व्यवसाय विस्तारका प्रस्ताव रोक्न निर्देशन दिएका थियौं,’ लेखा समितिका सभापति डोरनाथ उपाध्यायले भने,- ‘तर, विकास समितिले हामीलाई क्रस गर्दै एनसेललाई फोरजीको अनुमति दिन निर्देशन दियो भन्ने सुन्दैछु । केका आधारमा र कुन नियतले दियो त्यो तपाईं पत्रकारहरुले खोज्नुपर्यो ।’

लेखा समिति र अर्थ समितिले कर नतिरेसम्म एनसेललाई फोरजी लगायतका सेवा विस्तार गर्न नदिनु भन्ने निर्देशन अनुसार प्राधिकरणले अहिलेसम्म अनुमति दिन नसकेको प्रवक्ता अर्यालले बताए ।

‘केहीदिन अघि विकास समितिले एनसेललाई फोरजी सेवा विस्तार गर्न अनुमति दिनु भन्ने निर्देशन दिएपछि त्यसैको आधारमा प्राधिकरणले निर्णय गरेको हो,’ अर्यालले भने ।

प्राधिकरणले प्रविधि तटस्थताको सिद्दान्तको व्याख्या गर्दै एनसेललाई फोरजी सेवा सञ्चालन गर्नेअ नुमति दिएको हो ।

हाल सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै फोरजी सेवा सञ्चालन गर्दै आएको छ । एनसेलले पनि फोरजी सेवा सुरु गरेपछि उनीहरुबीचको व्यवसायिक प्रतिस्पर्धाले सेवाग्राहीले भने कम मूल्यमा गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ ।


पुष्प दुलाल