कृषक समूहलाई सिम कार्डसहित मोबाइल फोन



इनरुवा। सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ । किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन इकाईले जिल्लाका ६३ वटा कृषि समूह, कृषि सहकारी र पशुपालन कृषक समूहलाई मोबाइल फोन वितरण गरेको हो । जिल्लाका किसानलाई बुधबार जिल्ला कृषि विकास कार्यालय सुनसरीमा कृषि व्यवस्थापन प्रणालीको सामग्री तथा उपकरण वितरण कार्यक्रम आयोजना गरी सो सामग्री वितरण गरेको हो ।

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि मोबाइल फोन सिम कार्डसहित वितरण गरिएको आयोजनाका निर्देशक विष्णुप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार आयोजनाले किसानलाई जानकारीमूलक प्रोडक्टका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक हाम्रो कृषि मोबाइल, एसएमएस, इन्टर एक्टिभ र भ्वाइस रेस्पोन्सका लागि सामग्री वितरण गरिएको हो ।

उक्त मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्नउत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा मोबाइलबाटै थाहा पाउने आयोजना निर्देशक घिमिरेले बताए।

समूह र सहकारीलाई वितरण गरेको उक्त मोबाइलबाट झन्डै दुई हजार किसानले राहत पाउनेछन् । सूचना पाएर आफ्नो कृषि बाली तथा पशुपक्षी पालनमा सहजताका साथै सतर्कता अपनाउन सहज हुने जिल्ला कृषि विकास कार्यालय प्रमुख राजकान्त झाले जानकारी दिए।

झाका अनुसार ६३ सहकारी र समूहमध्ये ३८ सहकारी र समूह कृषितर्फ तथा २५ वटा समूह पशुतर्फको रहेका छन् । समूह र सहकारीलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले मोबाइल फोन सेटसँगै, रेनगेज, तापक्रम नाप्ने थर्मामिटर लगायतका सामग्री वितरण गरे। सामान पाएपछि किसान र कृषक समूहले त्यसबाट आफूहरुलाई पशुपालन तथा बाली उत्पादनमा सहज हुने प्रतिक्रिया दिएका छन् ।


क्लिकमान्डु