जनतालाई सेयर बेचेर काठमाडौंमा मेट्रो रेल चलाउने कांग्रेस मेयरका उम्मेद्वार जोशीको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वार राजुराज जोशीले आफूले चुनाव जिते काठमाडौंमा मेट्रो रेल चलाउने घोषणा गरेका छन् ।

निर्वाचन आयोगमा मेयरको उम्मेद्वारी दर्ता गरेको भोलिपल्ट बसन्तपुर दरबारको पछाडि रहेको आफ्नै निवासमा क्लिकमाण्डूसँग कुरा गर्दै जोशीले आफुले चुनाव जिते काठमाडौंमा मेट्रो रेल सञ्चालन गरेरै छाड्ने दाबी गरे ।

उनले काठमाडौं महानगरको विकासका लागि आफ्ना आधादर्जन योजनाहरु सुनाए ।

महानगर भित्रको ट्राफिक जामको व्यवस्थापन गर्न आफू निर्वाचित भएको भोलिपल्टैबाट काठमाडौंमा मेट्रो रेल ल्याउने प्रक्रिया थाल्ने जोशीले सुनाए ।

‘महानगरभित्र बाटो जति ठूलो बनाए पनि ट्राफिक जामको समस्या समाधान हुँदैन, त्यसैले काठमडौंमा मेट्रो रेल नचलाई अर्को उपाय छँदै छैन,’ जोशीले क्लिकमाण्डूसँग भने,- ‘जनताको घर भत्काउने अनि मुअब्जा पनि नदिने काम हामी डेमोक्रेटबाट हुन सक्दैन । किनभने हामी निजी सम्पत्तिको पक्षपताही हौं ।’

काठमाडौंमा ८० किलोमिटर मेट्रो रेल चलाउन ६ खर्ब लाग्ने उनले सुनाए ।

‘८० किलोमिटर रेलका लागि ६ खर्ब रुपैयाँको योजना छ, अहिले म ८० किलोमिटर नै बनाउँछु त भन्न सक्दिन,’ जोशीले भने,- ‘तर मेरो कार्यकालमा काठमाडौंका जनताले मेट्रो रेल चढिसकेका हुन्छन् ।’

काम सुरु गरेको ३ वर्षमा मेट्रो रेल बनाइसक्ने उनले दाबी थियो ।

जोशीका अनुसार मेट्रो रेल पूर्णरुपमा महानगरको खर्चमा मात्रै बनाइने छैन । पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई साधारण सेयर बिक्री गरेर रेल बनाउने पैसा जुटाइने छ ।

‘एउटा बैंकको आइपिओ निकाल्दा त सर्वसाधारणले २५/३० अर्ब रुपैयाँको हाल्छन् भने रेल सञ्चालनका सेयर नहाल्ने भन्ने कुरै हुँदैन,’ उनले भने,- ‘५० प्रतिशत सरकारको र ५० प्रतिशत जनताको लगानीमा रेल सञ्चालनमा ल्याउने छु ।’

६ खर्ब रुपैयाँ बराबर लागत लाग्ने अनुमान गरिएको मेट्रो रेलको ३ खर्ब सेयर सर्वसाधारणमा बिक्री गर्ने उनको योजना छ ।

धुलोमुक्त काठमाडौं

चुनाव जितेपछिको आफ्नो पहिलो प्रयास नै काठमाडौलाई धुलोबाट मुक्त बनाउनु भएको जोशीले सुनाए ।

‘काठमाडौं अहिले धुलोमाण्डू भएको छ, मैले चुनाव जितेपछि सफथग्रहण गर्ने वित्तिकै काठमाडौंलाई धुलोमुक्त गर्न लागि पर्नेछु,’ उनले भने,- ‘१५ वर्षदेखि जनप्रतिनिधि छैनन्, कर्मचारीलाई मतलबै छैन, जनप्रतिनिधि भएको भए महानगरको यस्तो हालत हुने नै थिएन ।’

मेयर भएको महिनादिनमै खाल्डामुक्त काठमाडौं

महानगरभित्रका खाल्डाखुल्डी आफू मेयर भएको एक/डेढ महिनाभित्रै पुरिसक्ने उनको दाबी छ । त्यैगरी, बिजुलीका तारहरुले महानगरलाई कुरुप बनाएको भन्दै जोशीले मेलम्चीको पाइपलाइनमार्फत अन्डरग्राउण्ड बाटोमा बिजुलीका तारहरु जनताको घरघरमा पुर्याउने उनले बताए ।

त्यसैगरी, महानगरभित्रका सडकहरु गुणस्तरीय बनाउन लागि पर्ने उनले सुनाए ।

‘सडक राम्रोसँग पीच गर्ने हो भने कम्तीमा १० वर्ष चल्छ, म उपभोक्ता समितिमा रहेर यही टोलमा गरेको पीच १० वर्ष वित्दा पनि भत्किएको छैन,’ उनले भने ।

चोकचोकमा फ्लाइओभर

त्यसैगरी ट्राफिक जाम हुने ठाउँहरुमा फ्लाइओभर बनाउने उनले सुनाए । जोशीका अनुसार काठमाडौंका ठूलो चोकहरु र मोडहरुमा फ्लाइओभर बनाएपछि महानगरबासीले ट्राफिक जामको समस्या भोग्नुपर्ने छैन ।

‘फ्लाइओभर मेट्रो रेलभन्दा निकै सस्तो पर्छ, ५ वर्षमा कम्तिमा २५/३० वटा फ्लाइओभर बनाउन सकिन्छ भन्ने लागेको छ,’ उनले सुनाए ।

महानगरभित्र फ्रि वाइफाइ

५ वर्षभित्र काठमाडौंमा वाइफाइ र इन्टरनेट फ्रि गर्ने उनले सुनाए ।

‘युवा पुस्तामा इन्टरनेटको पहुँच पगेन भने उनीहरु प्रतिस्पर्धी हुन सक्दैनन्,’ जोशीले भने,- ‘मैले चुनाव जिते भने ५ वर्षभित्र महानगरबासीले इन्टरनेट र वाइफाइका लागि पैसा तिर्नुपर्ने छैन । सडकमा बसेर पनि निशुल्क इन्टरनेट चलाउन सकिनेछ ।’

निःशुल्क इन्टरनेटका लागि सुरुमा ठूलै लगानी लाग्ने भएपछि पछि खासै लगानी नलाग्ने उनको भनाई थियो ।

‘महानगरले आफ्नै स्रोतबाट महानगरबासीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ,’ उनले भने ।

आइटीमा वार्षिक २० हजारलाई रोजगारी

हरेक साल २० हजार युवालाई सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने मेरो आफ्नो सपना भएको जोशीले सुनाए । जोशीका अनुसार आफ्नो कार्यकालभित्र काठमाडौं महानगरलाई आइटीको हब बनाउने र महानगरभित्र आइटीको सेन्टर खोलिनेछ । बिजनेसम्यानहरुले बाहिरबाट काम ल्याउने छन् । र, महानगरले पनि काम जेनेरेट गर्छ ।

‘महानगरलाई म पूर्णरुपमा कम्युटराइज र आइटीमैत्री बनाउँछु, जसले भष्टाचार नियन्त्रण मात्रै गर्दैन, सेवा गा्रहीलाई स्तरीय, फेयर र छरियो सेवा पनि उपलब्ध गराउँछु,’ उनले भने ।

सार्वजानिक विद्यालयमा एडमिसन गर्नेको भीड

आफू मेयर भएपछि सार्वजानिक विद्यालयहरुको गुणस्तरमा व्यापक सुधार गर्ने उनले सुनाए।

सरकारी स्कुलको गुणस्तरमा सुधार भएपछि महानगरबासी आफ्ना छोराछोरीको भर्ना गर्न सार्वजानिक विद्यालयमा भीड नै लाग्ने उनले ठोकुवा गरे ।

‘सार्वजानिक विद्यालयहरुलाई एकआपसमा मर्ज गराउँछु । यिनीहरुको गुस्तर बढाउँछु,’ उनले भने,- ‘मेरो कार्यकालको अन्त्यतिर महानगरबासीहरु सार्वजानिक विद्यालयमा आफ्ना छोराछोरीको भर्ना गर्न नेताहरुकहाँ सोर्सफोर्स लगाउन पुग्नेछन् ।’

महानगरबासीले पढाइको गुणस्तरका कारण निजी विद्यालयमा महंगो शुल्क तिरेर आफ्ना सन्तानलाई पढाउनु पर्ने युगको अन्त्य गर्ने उनले दाबी गरे ।

सबै वडामा सार्वजानिक पार्क, जतात्यतै सीसी क्यामेरा

जनताको चापसँगै महानगरपालिका अन्त्यनै क्राउडेड भएकाले महानगरभित्रका सबै वडाहरुमा एउटा पार्क बनाउने उनको योजना छ ।

‘महानगरभित्र हरेक वडामा सार्वजानिक पार्क बनाउनुपर्छ,’ उनले भने,- ‘सार्वजानिक पार्कले शहरको सुन्दरता पनि बढाउँछ ।’

सुरक्षाका लागि महानगरभित्र जतात्यतै सीसी क्यामेराहरु राख्ने उनले सुनाए ।

फोहोरबाट बिजुली

जोशीका अनुसार महानगरको फोहोरबाट बिजुली उत्पादन गर्न सकिन्छ । र, उनको प्रयास फोहोरलाई मोहोरमा परिवर्तन गर्नुमा केन्द्रित रहनेछ ।

त्यसैगरी, महानगरभित्र सवारीसाधन पार्किङको अवस्था अत्यत्नै दयनिय भएकाले व्यवस्थित पार्किङका लागि आफुले जग्गा खोजिरहेको बताए ।

‘घरमा मुली छैन भने त्यो घर जस्तो हुन्छ अहिले महानगर त्यस्तै भएको छ,’ उनले भने ।

आफूले पञ्चायतकालदेखि नै राजनीति गरिरहेको र म राजनीति गर्नलाई नै राजनीतिमा आएको उनले सुनाए ।

‘अहिले केही नयाँ व्यक्तिहरु चुनाव लड्न आएका छन्, उनीहरु राजनीति र समाजसेवा गर्न आएका होइनन्,’ उनले भने,- ‘म चुनाव लड्नलाई राजनीतिमा आएको होइन, राजनीति र समाजसेवा गर्न राजनीतिमा आएको हुँ ।’

आफू ०३५ सालदेखि कांग्रेसको राजनीतिमा आवद्ध भएको र ०४७ सालताका काठमाडौं जिल्ला कांग्रेसका सचिव भएर काम गरिसकेको उनले सुनाए ।

र, अन्त्यमा तपाईंले चुनाव जितेपछि यी प्रतिवद्धताहरु पुरा गर्न सक्नुभएन भने ? भन्ने क्लिकमाण्डूको प्रश्नमा जोशीले भने,- ‘मैले पुरा हुन नसक्ने हावादारी कुराहरु गरेकै छैन । चुनाव जित्न दिनुहोस् त्यसपछि मैले काम गरेको हेर्नुहोस् र यस्तो प्रश्न गर्नुहोस् ।’


पुष्प दुलाल