तनहुँ सेती आयोजनाको ५० प्रतिशत बढी मुआब्जा वितरण



काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण गरेको छ ।

आयोजनाको प्रभावित एवम् डुबान क्षेत्रका प्रभावितलाई वितरण गर्नुपर्ने रु ६० करोड मुआब्जमध्ये हालसम्म ३२ करोड मुआब्जा वितरण गरिएको हो ।

मङ्गलबार र आज गरी थप रु ११ करोड मुआब्जा वितरण भएपछि घरधुरी र डुबान क्षेत्र प्रभावितको आधारमा समेत ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण भएको आयोजनाका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए ।

यसअघि २१ करोड मुआब्जा वितरण भइसकेको छ ।

कुल १४० मेगावाट क्षमताको सो आयोजनाको जलाशयबाट डुबानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा, फलफूल तथा रुख बिरुवाको क्षतिपूर्ति वितरण गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाले गत फागुन ५बाट मुआब्जा वितरण सुरु गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा मुआब्जा वितरणका लागि ४२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

डुबान क्षेत्रमा पर्ने करिब एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । यसका लागि करिब रु ६० करोड लाग्ने अनुमान गरिएको छ । आयोजनाको बाँध बनेपछि बन्ने जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ रानीपोखरी, साभुङ भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुबानमा पर्नेछन् ।

आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख युनिट र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ । बढी बिजुली माग हुने हिउँदमा आयोजना ६ घन्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाट क्षमतामा सञ्चालन हुनेछ ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रशारण लाइन निर्माण र ग्रामीण विद्युतीकरण सहितको हो ।

आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको आठ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख र युरोपेली लगानी बैंकको आठ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहेको छ ।


क्लिकमान्डु