समृद्ध पोखरा निर्माण नै पहिलो प्राथमिकताः पोखरा महानगरपालिकाका उम्मेदवार



पोखरा। पोखरा लेखनाथ महानगरपालिकाका उम्मेदवारहरुले समृद्ध पोखरा निर्माण नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका छन्।

भौगोलिक तथा प्राकृतिक रुपले सम्पन्न पोखराका सम्पदालाई जोगाउँदै आवश्यक पूर्वाधारको विकास गरिनेमा जोड दिँदै उनीहरुले वातावरणीय स्वच्छता र पर्यटकको बसाइ लम्ब्याउने जस्ता कार्यमा तदारुकता देखाउने प्रतिवद्धता व्यक्त गरे।

नेपाली कांग्रेसकाबाट प्रमुख पदमा उम्मेदवारी दिएका रामजी कुँवरले प्रकृतिप्रदत्त सम्पदालाई जोगाउन र बढ्दो सहरीकरणबाट हुने वातावरण प्रदूणलाई रोक्न स्वच्छ हराभरा पोखराको अवधारणका साथ आफू अघि बढ्ने बताए।

कांग्रेसबाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी सरस्वती गुरुङले पोखरामा रहेका तालतलैयालगायतका सम्पदाको संरक्षण, यहाँका सामाजिक एवम् सांस्कृतिक पक्षको जगेर्नालगायत विषयलाई आफूले अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन्।

नेकपा एमालेका प्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै पोखरालाई विश्वकै समृद्ध सहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए।

एमालेकी उपप्रमुख पदकी उम्मेदवार मञ्जु गुरुङले नगरवासीका आधारभूत आवश्यकता पूरा गर्न, भष्टाचार तथा विकृति विसङ्गति मुक्त सहरका रुपमा पोखराको विकास गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

नेकपा माओवादी केन्द्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेले पोखरा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको बताउँदै त्यही अनुरुपको विकासका लागि दीर्घकालीन सोचका साथ अघि बढ्ने बताए।

माओवादी केन्द्रबाटै उपप्रमुख पदमा उम्मेदवारी दिएकी गोमा ढकालले यहाँका १० वटै तालको संरक्षण तथा विकास, धुलो–धुवाँरहित सहर निर्माणलगायत विषय आफ्नो प्राथमिकतामा पर्ने बताइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदका उम्मेदवार बनेकी गीता गुरुङले संसारभरका पर्यटक आउने पोखरामा बसपार्क व्यवस्थित नबन्नुले त्यसको नकारात्मक असरपर्ने हुँदा आफू विजयी भएमा सबैभन्दा पहिले व्यवस्थित बसपार्क निर्माणको कार्यलाई अघि बढाउने बताइन्।


पुष्प दुलाल