बेनी–जोमसोम–कोरला सडकमा चार वटा पुल निर्माण सुरु
म्याग्दी। म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हुँदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ ।
दानाको घट्टेखोला, मुस्ताङ घाँसाको खहरेखोला, मार्फाको स्याङखोला र कागबेनी खोलामा पक्की मोटरेबल पुल निर्माण सुरु भएको हो । यी स्थानमा मोटरेबल पुल नहुँदा खोलामा बाढी आउँदा सडक अवरुद्ध हुने गरेको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गतका मोटरेबल पुल निर्माण कार्य सडक डिभिजन कार्यालय बाग्लुङले ठेक्का प्रक्रिया अघि बढाएको थियो । चार वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग २४ करोड ८८ हजार ३०२ रुपैयाँमा ठेक्का सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका लेखा अधिकृत कर्णबहादुर बोहोराले बताउनुभयो ।
चारवटै पुल निर्माणका लागि सम्झौता गरेका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन् । दानाको घट्टे खोलामा फेवा नयाँबाटो जेभीले पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँ र घाँसाको खहरेखोला सिरुवा कन्ट्रक्सनले पाँच करोड ९२ लाख २९ हजार १०५ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् ।
यसैगरी मार्फाको स्याङखोलाको ११५ मिटर लामो पुल निर्माणका लागि मुक्तिनाथ श्रीगीता जेभीले नौ करोड ५१ लाख १९ हजार १३७ रुपैयाँ र कागबेनी खोलाको पुल बनाउन गभाला रफिना जेभी काठमाडौंले दुई करोड ८८ लाख ५१ हजार ५०४ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् । चारवटै पुल २०७५ सालभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
बेनीदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकालाई जोड्ने १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि सडक विभागले बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरेको छ । ७६ किमी दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्र र ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गर्न लागिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।
उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको म्याग्दी–मुस्ताङखण्डको काम गर्न सञ्चालित आयोजनाले जोमसोम कोरलाखण्डमा सात र बेनी जोमसोमखण्डमा चार वटा प्याकेजमा स्तरवृद्धिको काम अघि बढाएको छ ।
सडक स्तरवृद्धि र कालोपत्रसँगै हाल रहेका बेलिब्रिजलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ । बेनी–जोमसोमखण्डमा सात वटा बेलिब्रिज छन् भने जोमसोम कोरलाखण्डका खोलामा पुल नहुँदा मौसमी रुपमा यातायातका साधन सञ्चालन हुने गरेका छन् ।