पर्यटकीय आकर्षणको केन्द्र बन्दै म्याग्दीको लभ्लीहिल



म्याग्दी। म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।

विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पट’ का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनी बजारमा आउने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बन्न थालेको हो ।

बेनी बजारसँगै जोडिएको खबराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको हो । केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउन सकिने म्याग्दीका पर्यटन व्यवसायीको भनाइ छ ।

लभ्लीहिलमा पुग्ने पदमार्ग, रेस्टुराँ, भ्यू टावर, पौडी खेल्ने स्थानलगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने स्थलका रुपमा स्थापित गर्ने विषयमा छलफल भए पनि विभिन्न कारणले योजना अलपत्र अवस्थामा छ ।

सदरमुकाम बेनी आसपासमा ब्यस्त दैनिकीबाट आराम गर्न तथा देशका विभिन्न जिल्लाबाट मुस्ताङ आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न स्थानीय र सरोकारवाला निकायले पूर्वाधार विस्तारमा चासो देखाउनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए । ‘अब बेनी बजार आसपासका क्षेत्रका सम्भावनामा पूर्वाधार विस्तार गर्नुपर्छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई एकदिन बेनीमै रोक्नसक्ने गरी पूर्वाधार आवश्यक छ,’ बानियाँले भने।

बेनी नगरपालिकाभित्र विश्वमै महत्व भएका धार्मिकस्थल भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनले बताए । बेनीबाट करिब आधा घन्टाको दूरीमा अवस्थित लभ्लीहिलबाट बेनीबजार, पर्वतबेनी, गलेश्वर, पुलाचौरको पुलाआश्रम, जगन्नाथ मन्दिरसहित आसपासका क्षेत्रका साथै धौलागिरि, अन्नपूर्ण हिमाल र सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ ।

बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालिगण्डकीको बहाबलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि पूर्वाधार र प्रचारप्रसार भए आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको छ ।

स्थानीय तहको पुनःसंरचनालगत्तै बेनी नगरपालिका र पाँच गाउँपालिका भएको म्याग्दीको सदरमुकाम बेनीमा हुने आर्थिक र प्रशासनिक चहलपहलसमेत घट्ने अवस्थामा आन्तरिक तथा बाहिरी जिल्लाबाट आएकालाई पर्यटकलाई सो पर्यटकीयस्थलमा उचित गाँसबासका लागि पूर्वाधार विकास गर्नुपर्ने र नयाँ पर्यटकीय गन्तव्य बनाउनुपर्ने नगरवासीले बताएका छन् ।

स्थानीय निकायको निर्वाचनको तयारी सुरु भएपछि नपाको नेतृत्वमा आउनेले नगरपालिकाको रुपरेखामा कस्ता योजनालाई समावेश गर्छ भन्नेमा नगरवासीको चासो रहेको छ । बेनी नगरपालिका भित्र नयाँ गन्तब्यमा भकिम्लीको स्वर्गाआश्रम, बेलढुङ्गालगायतका नयाँ र पर्यटकलाई लोभ्याउने स्थलसमेत रहेका छन् ।


क्लिकमान्डु