नमुना तरकारी बजार बनाउन स्तरोनन्तिको काम



दमक । झापाको दमक बजार क्षेत्रमा तरकारी तथा फलफूल बजारलाई नमुना तरकारी बजारका रुपमा विकास गराउन स्तरोन्नतिको काम थालिएको छ ।

दमक नगरपालिका–६ स्थित नगरपालिकाको स्वमित्वमा रहेको नयाँ तरकारीबजारलाई थप व्यवस्थित बनाउन स्तरोनन्तिका काम थालिएको हो । दमक उद्योग वाणिज्य सङ्घको पहलमा तरकारी व्यवसायी र दमक नगरपालिकाको साझेदारीमा विभिन्न पूर्वाधार निर्माणका काम थालिएको नयाँ तरकारी बजार निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

बजारभित्र सोलार जडान गर्ने योजना छ । व्यवसायीको सक्रियतामा तरकारी बजारलाई नमुना बनाउन लागिएको हो । विसं २०६९ देखि नगरपालिकाले स्थानीय तरकारी व्यवसायीको साझेदारीमा कृषि सामग्री संस्थाको अढाई बिगाह जग्गा २१ वर्षका लागि भाडामा लिएर तरकारी बजार सञ्चालन गरेको हो ।

दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकालका अनुसार पूर्वाधार निर्माणका लागि २४ लाख रुपैयाँ खर्च हुने बताउँछन् । नगरपालिकाको ७५ प्रतिशत र व्यवसायीको २५ प्रतिशत लगानी रहने छ । वर्षा याममा पानी जम्ने, हिलाम्मे हुने गरेका कारण त्यसलाई व्यवस्थित गर्न थालिएको हो  ।

अहिले टायल बिच्छ्याउने तथा कर्कटपाता लगाएर घामपानी छल्नेसहितका संरचना निर्माण भइरहेका छन् । सो कार्यका लागि ३१ जना व्यवसायीले रु १६ लाख लगानी गरिसकेका छन् ।

तरकारी बजारमा १७६ वटा कक्ष छन् । नगरपालिकाले ती सवै कक्षबाट मासिक कर उठाउँदै आएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकत युवराज दाहाल तरकारी बजारको पूर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गर्र्दै आएको बताउँछन् । उक्त बजारमा स्थानीयदेखि पूर्वी पहाडी भेगका साथै भारतका विभिन्न ठाउँबाट ठूलो परिमाणमा  तरकारी आयात गरिँदै आएको छ ।

 


क्लिकमान्डु