१० वर्ष लगाएर निर्माण गरियो सिद्धि नहर, एकहजार सातसय हेक्टर जग्गा सिँचाइ



भद्रपुर । झापाको सिरान एवम् पूर्वी भेगको मेची नदीसँग जोडिएको सिद्धि खोलाबाट निकालिएको नहर सफल सञ्चालनबाट स्थानीय जनता खुसी भएका छन् ।

नहर निरीक्षण एवम् अवलोकनका निम्ति सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ र राष्ट्रिय अनुसन्धान कार्यालय भद्रपुरका प्रमुख कृष्ण खनालसहितको टोलीले बिहीबार नहर निरीक्षण एवम् अवलोकन गरेको छ ।

करिब ४४ करोड रुपैयाँको लागतमा १० वर्ष अवधि लगाएर निर्माण गरिएको सो नहर २२ किमी लामो र पक्की छ भने यसबाट बाहुनडाँगी क्षेत्रमा करिब एकहजार सातसय हेक्टर जग्गा सिँचाइ भइरहेको छ ।

करिब सबै बालीलाई उपयुक्त ढङ्गले सिँचाइ सुविधा पुगिरहेको सो नहरमा नियमित पानी आउने कारणले यस क्षेत्रका किसानमा छिट्टै आर्थिक परिवर्तन आउने र किसान समृद्ध हुने विश्वास जागेको सिद्धि नहर सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद चौलागाईंले बताए।

निरीक्षण एवम् अवलोकनका क्रममा प्रजिअ उत्तरकुमार खत्रीले लामो समय र धन खर्चेर बनाइएको यो नहरको रेखदेख एवम् सुरक्षामा स्थानीय किसानको भूमिका अग्रणी रहेको बताए ।


क्लिकमान्डु