बिद्युत् चोरी गर्दै गरेका १३ जना पक्राउ




झापा । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका-२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, वासु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजम, शम्भू राजवंशी, जमुना राजवंशीलगायत रहेका छन् । उनीहरुलाई पानी तान्न प्रयोग गरिएका मोटर, घरमा जडान गरिएका पङ्खालगायत विद्युतीय उपकरणसहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण, अनारमनी वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोली र प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् चोर्दाचोर्दै नियन्त्रणमा लिइएको बताइएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको केन्द्र प्रमुखसमेत रहनुभएका सिंहले जानकारी दिए । उनीहरुलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ ।

प्राधिकरणले चालु आवकोे साउनदेखि हालसम्म विद्युत् चोरीमा संलग्न तीनसय ६२ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको छ जसबाट रु ३० लाख राजस्व सङ्कलन भएको केन्द्र प्रमुख सिंहले बताए ।


क्लिकमान्डु