विदुर नगरपालिकाभित्र उत्पादन हुने फोहर सङ्कलन निजी क्षेत्रबाट



नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाभित्र उत्पादन हुने फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ ।

सत्रौँ नगर परिषद्को निर्णयबमोजिम नगरभित्र थुप्रने फोहरको सङ्कलन, ओसारपसार र विसर्जनको जिम्मेवारी एक्सन वेस्ट प्रालिले सुरु गरेको हो ।

बोलपत्र आह्वानमा प्रतिस्पर्धामार्फत छनोट भएको एक्सन वेस्टले साझेदारी संस्थाका रुपमा पाँच वर्षसम्म नगर क्षेत्रमा उत्पादन हुने फोहरलाई सदस्यसँग तोकिएको शुल्क लिएर व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गरेको विदुर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

यसअघि विदुर नपाको कार्यालयले फोहर सङ्कलन गर्दै आएको थियो । नपाको काम प्रभावकारी नदेखिए पछि परिषद्मार्फत निजी क्षेत्रलाई दिने निर्णय गरिएको हो । विदुर नपा क्षेत्रबाट दैनिक १५ टन फोहर सङ्कलन हुने गरेको छ ।

सम्झौता मुताविक फोहर व्यवस्थापनको जिम्मा पाएको संस्थालाई नगरपालिकाले प्रत्येक वर्ष नौ लाख ४० हजार रुपैयाँ दिने छ । संस्थालाई नगरभित्र आवासीय घर, होटल, व्यवसाय, उद्योग, संस्था, कार्यालय, फर्मलगायतबाट उत्पन्न हुने फोहर सङ्कलनका लागि सदस्य बनाएर तोकिएको शुल्क उठाउने अधिकार दिइएको छ ।

वैशाख १ गतेदेखि निजी क्षेत्रले फोहर व्यवस्थापनको जिम्मेवारी पाएसँगै प्रत्येक दिन बिहानको समयमा फोहर सङ्कलन, नगर क्षेत्रमा तोकिएको स्थानमा मात्र फोहर फ्याँक्नुपर्ने संहिता जारी गरी कार्यान्वयनको अनुगमन, सार्वजनिकस्थलमा सरसफाइ, सदस्यबाट शुल्क सङ्कलन र सङ्कलित फोहरबाट ऊर्जा उत्पादनको प्रयास सुरु गरेको छ ।


क्लिकमान्डु