राप्रपाको घोषणापत्रः २५ जनालाई रोजगारी दिने उद्योगलाई १० वर्षसम्म कर छुट



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय निकायको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजानिक गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले बुधबार ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसको जस्तै राप्रपाले पनि आफ्नो घोषणापत्र आर्थिक तथा सामाजिक विषयमा केन्द्रित गरेको छ । आफूले चुनाब जिते स्थानीय निकायमा २५ जनालाई रोजगारी दिने उद्योगलाई १० वर्षसम्म पूर्णरुपमा कर छुट दिने राप्रपाले जनाएको छ ।

त्यसैगरी, राप्रपाले आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेको छ । प्रत्येक गाउपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र ब्यवस्थित नगरोन्मुख गाउको रुपमा विकसित गराउने संकल्प बोकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताको सुदृढिकरण, हिन्दुत्वको संरक्षण र सम्बद्र्धन, सामाजिक सुधार र सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा भोजन , गरिबी निवारण र रोजगारी प्रबद्र्धन, कृषी,उद्योग तथा बाणिज्य क्षेत्रको बिकास र पुर्वाधार बिकासलगायतलाई प्राथमिकता दिएको छ ।


पुष्प दुलाल