एनएमबिको नाफा ४८ प्रतिशतले बढ्दा सानिमाको ४० प्रतिशतले बढ्यो



काठमाडौं । एनएमबि बैंकले चैत मसान्तमा ४८ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार एनएमबिले चैत मसान्तमा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको चैत मसान्तमा एनएमबिको नाफा ७७ करोड रुपैयाँ थियो ।

अर्ब नाफा कमाउदा एनएमबिले ब्याज आम्दानीबाट १ अर्ब ८५ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३७ करोड थियो । ७१ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले चैत मसान्तसम्म ६० अर्ब रुपैयाँ कर्जा दिएको छ ।

एनएमबिको पनि केन्द्रीय बैंकले परिवर्तन गरेको सिसिडी गणनाले राहत दिएको छ । चैत मसान्तमा एनएमबिको सिसिडी रेसियो ७० प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा छ । यस्तै रिर्टन अन इक्युटी १७.४१ प्रतिशत छ ।

सोमबार तेस्रो त्रैमासिक अवधीको वित्तीय विवरण सार्वजनिक गरेको सानिमा बैंकले अघिल्लो वर्षको भन्दा नाफामा ४० प्रतिशत बृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार चैत मसान्तमा बैंकले ९४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ६७ करोड थियो । करिब १ अर्ब नाफा गर्दा सानिमाले ब्याज आम्दानीमा १ अर्ब ६५ करोड रुपैयाँ कमाएको छ ।

५ अर्ब ३० करोड चुक्ता पुँजी रहेको सानिमाले चैत मसान्तसम्ममा ५३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा कम हुने बैंकमा रहेको सानिमाको एनपिएल ०.०४ प्रतिशत छ ।

सानिमाको प्रति सेयर आम्दानी अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष २९ रुपैयाँ ५१ पैसा रहेको सानिमाको इपिएस यो वर्ष २३ रुपैयाँ ९५ पैसा छ । यस्तै बैंकको रिर्टन अन इक्युटी १८.०३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष आरओई २२.०२ प्रतिशत थियो ।


क्लिकमान्डु